१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

वाणगंगाको नगरसभा मार्फत राष्ट्रकै नमुना नगर बनाउने उद्घोष



कपिलवस्तु, २० भदौ ।
बाणगंगा नगरपालिकालाई राष्ट्रकै एक नमुना नगर वनाउने उद्घोष प्रथम नगरसभा मार्फत गरिएको छ । प्रथम नगरसभाले आर्थिक वर्ष ०७४।०७५का लागी कुल ६७ करोड ३३ लाख ५९ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख मंगल प्रसाद थारुले निति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएको हो ।
जस मध्ये चालु तर्फ सामाजिक सुरक्षा भत्ता, शिक्षा, स्वास्थ्य तर्फको सशर्त कार्यक्रम र नगरपालिकाको चालु खर्च सहित ३० करोड ९ लाख ६४ हजार रकम विनियोजित गरिएको छ भने पुंजीगत खर्चतर्फ ३७ करोड २३ लाख ९५ हजार बराबर रहेको छ । कुल बजेटको ५५ प्रतिशत पूजीगत र ४५ प्रतिशत चालु वजेटको रुपमा राखिएकोछ ।
नगर सभामा नगर प्रमुख थारुले नगरपालिकाको भौतिक, आर्थिक, समाजिक, सांस्कृतिक लगाएतका समग्र विकासको लागी २५ वर्षे बृहतर गुरुयोजना तयार गरी समृद्धी उन्मुख नगर निमार्णको अभियानलाई अगाडी बढाइने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अथिती सांसद अत्तहर कमालले बाणगंगा जनचेतना र प्राकृतिक श्रोत साधनले अरु भन्दा अगाडी भएकाले योजना निर्माणको सुन्दर खाका पनि अरुको तुलनामा उत्कृष्ट हुनुपर्ने वताउनुभयो । नगरको समग्र विकासको मार्ग दर्शनका लागी भूउपयोगको निति सहितको बृहद शहरी विकास योजना कार्यन्वयनमा ल्याउनु पर्ने वताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी सांसद विश्राम प्रसाद थारुले बोल्दै यहाका श्रोत साधनको दिगो उपयोग गर्दै जनप्रतिनिधीले आगामी पुस्ताका लागि समेत मेरु दण्डहुने गरी विकासका काम थाल्न आग्रह गर्नु भयो ।
बाणगंगाको पहिलो नगरसभावाट पारित नीति तथा कार्यक्रम तर्फ ठुला पुर्वाधारहरुको डिपिआर तयार गरी सोको आधारमा लगानी गर्ने, नगर सभा भवन निमार्णका लागि लागी जग्गाको खोजि गर्ने, नगर यातायात गुरुयोजनाका आधारमा नगरमा चक्रपथ निमार्ण गरिने, प्रत्येक वडामा कम्तीमा १ किमी सडक पक्की गर्ने लगाएतका महत्वपुर्ण योजनाहरु समावेश गरिएको छ ।
यसैगरी करका दरमा समसामायिक बनाउदै दायरा फराकिलो बनाउदै लैजाने, कर प्रशासनलाई पारदर्शी चुस्त बनाइने, आवस्यक तयारी गरि घरजग्गा करको सट्टा एकिकृत सम्पतिकरको लागु गर्ने, सार्वजनिक निजि, साझेदारी अवधारणालाई प्राथमिकता दिइने, सहकारीतामा आधारीत आर्थिक, सामाजिक, कृयाकलापलाई प्राथमिकता दिने उल्लेख छ ।
समाबेशी तथा समतामुलक विकासको लागी महिला, आदीवासी, जनजाति, बालबालिका, दलित, अपागं, मधेशी मुस्लिम अल्पसंख्यक पिछडा वर्गको बृहत्तर विकास गर्न उनीहरुकै सहभागितामा विभिन्न लक्षित कार्यक्रम संचालन गरिने, बालमैत्री स्थानीय शासशनको अवधारणालाई क्रमश कार्यान्वयन गर्दै लगीने छ ।
नगरप्रमुख मंगल प्रसाद थारुको अध्यक्षता, उपमेयर चक्रपाणी अर्यालको स्वागत एवम नगरका कर्मचारी राजन केसी र सर्मिला रानाको सहजीकरणमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भुजेल, एमालेका झविलाल पोख्रेल, कांग्रेसका रवि काफ्ले, माओावदी केन्द्रका विष्णु बेल्वासे, नेकपा मालेका शंकर प्रसाद आचार्य, राष्ट्रिय जनमोर्चाका दल वहादुर कुवर, नयाशक्ति पार्टीका जिल्ला संयोजक नारायण खनाल लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा शुभकामना ब्यक्त गर्नेहरुमा पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसाल, गैससका तेज प्रसाद आचार्य, सिद्धार्थ क्याम्पसका प्रमुख वालाराम ज्ञवाली, बाणगंगा माविका प्राचार्य राम प्रसाद भण्डारी लगायत रहनु भएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७४ मंगलबार ००:००  १ : ३८ बजे