१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022

नर्वे विरुद्ध विश्व विजेता जर्मनी हाबी, आधा दर्जन गोल



२० भदौ ।
विश्व विजेता जर्मनीले विश्वकप फुटबल २०१८ को छनौटमा आफ्नो प्रभावशाली प्रदर्शन कायम राखेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘सी’ मा रहेको जर्मनीले सोमबार राति भएको खेलमा नर्वेलाई ६–० ले हरायो ।
छनौट चरणमा लगातार आठौं जित निकाल्ने क्रममा टिमो वेर्नरले दुई तथा मेसुट ओजिल जुलियन ड्रेक्सलर, लियोन गोरेत्क र मारियो गोमेजले एक एक गोल गरे । जर्मनीले पहिलो हाफमा नै चार गोलको अग्रता लिएको थियो । १० औं मिनेटमा ओजिलले गोल गर्दै सुरुवाति अग्रता दिलाए । १७ औं मिनेटमा ड्रेक्सलरले अग्रता दोब्बर पारे । वेर्नरले २१ र ४० औं मिनेटमा गरी दुई गोल गरेपछि पहिले हाफमा जर्मनीले ४–० को अग्रता लियो ।
दोस्रो हाफमा थप दुई गोल भयो । ५० औं मिनेटमा गोरेत्क र ७९ औं मिनेटमा गोमेजले गोल गर्दै जर्मनीका लागि आधा दर्जन गोल पूरा गरे । समूह ‘सी’ अन्तर्गतकै खेलमा अजरबैजानले सान मारिनोलाई ५–१ तथा नर्दन आयरल्याण्डले चेक गणतन्त्रलाई २–० ले हरायो । ८ खेलबाट २४ अंकसहित जर्मनी समूहको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको नर्दन आयरल्याण्डको १९ अंक छ ।

प्रकाशित मिति : २० भाद्र २०७४ मंगलबार ००:००  २ : २३ बजे