१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सुनको गहना चोरी गर्ने महिला पक्राउ



सीताराम चौधरी, चन्द्रौटा, २१ भदौ ।
घरभित्रको सजावट देख्दा पत्याउनै गा¥हो । कोठामा हेर्दा महंगा पलङ, सोफासेट, दराज छन् । निकै आकर्षक सजिसजाउ भएको कोठा । कस्ले भन्छ, उनै हुन् सुन चोर भनेर । तर प्रहरीको अनुसन्धानले वास्तविकतामा परिणत गरिदियो । त्यही कोठाको दराजमा चोरेर लुकाइराखेको ४ तोला सुनका गहना राति प्रहरीले बरामद गरेको छ ।
घरमा करोडौंको सम्पत्ति भएपनि सुनका गहना चोरीमा पक्राउ परेकी उनी हुन् २६ वर्षीय उर्मिला बस्नेत । जिल्लाको शिवराज नगरपालिका वडा नं. ५, प्रगतिटोल घर भएकी उर्मिलाले मंगलबार दिउँसो शिवराज नगरपालिका ५, सहजटोलको एक घरबाट ४ तोला सुनका गहना चोरेको प्रमाण फेला परेको हो । प्रहरीले उर्मिलाको घरबाट मंगलबार राति करीब १० बजे अढाइ तोला बढीको रानीहार, डेढ तोला बढीको बाला र चन्द्रमा बरामद गरेको हो ।
तीज मनाउन माइत आएकी अमृता आचार्य (बस्याल) को दाइजोको गहना दिउँसो आफू घरमै हुँदा हुँदै पनि एकाएक गायब भएपछि उनी निकै चिन्तामा परेकी थिइन् । गत असारमा विवाह भएकी अमृता परीक्षाको लागि तीज यता माइतै बसेकी हुन् । “दिउँसो म र बहिनी घरमै थियौं । मैले दाइजोको गहना पोको पारेर दराजमै लुकाएर राखेकी थिएँ”–अमृताले बताइन् । “गहना चोर्ने उर्मिला पनि हाम्रै घर आएकी थिइन् । हामी अर्को कोठामा गएको बेला मेरो गहना चोरी भयो” –उनले भनिन् । “केही समयपछि मैले दराज खोलेर हेर्दा गहना थिएन, उर्मिला समेत हाम्रै घरमा आएकीले मलाई उर्मिलामाथि शंका लाग्यो तर हामीसँग कुनै प्रमाण थिएन । र प्रहरीलाई घटनाबारे जानकारी गरायौं ।” –अमृताको भनाई छ । अमृताका श्रीमान् भने बैदेशिक रोजगारीको सिलसिलामा फिनल्याण्ड बस्दै आएका छन् । गहना हराएपछि घरकाले बेचेर खाइस भन्ने डरले जानकारी समेत नदिएको बताउँछिन् ।
पीडितको उजुरीका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाले सोधपुछका लागि प्रगतिटोलकी उर्मिलालाई आफ्नो नियन्त्रणमा लियो । प्रहरीको विशेष अनुसन्धानपछि उर्मिलाले रात परिसक्दा मात्र आफूले चोरेको स्वीकार गरेको वडा प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए । राति करीब १० बजे प्रहरी टोली उर्मिलालाई सँगै घरमा आई कोठामा खानतलासी गर्दा दराजबाट आफैंले गहना निकालेर दिएको प्रहरी निरीक्षक भट्टराईले भने । चोरकै घरबाट चोरिएका गहना नै बरामद भएपछि अहिले प्रहरीले उर्मिलालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक भट्टराईले बताए । उर्मिलाका श्रीमान् अहिले बैदेशिक रोजगारीमा छन् भने घरमा अहिले साना दुई छोराहरुको विचल्ली भएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७४ बुधबार ००:००  २ : १५ बजे