१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

इस्मा गाउँपालिकाले चार सय घरका छाना फेर्दै



गुल्मी, २२ भदौ ।
गुल्मीको इस्मा गाउँपालिकाले एक वर्षको अवधिमा चार सय घरका खरका छाना विस्थापित गरी जस्तापाता लगाइदिने भएको छ ।
‘नागरिकलाई हाम्रो भर विपन्नलाई सुरक्षित घर’ भन्ने नारालाई आत्मसाथ गर्दै इस्मा गाउँपालिकाको गाउँसभामार्फत खरका छाना हटाउन एक करोड रुपैैयाँ विनियोजन गरिएको हो ।
खरका छाना विस्थापित गर्नका लागि खरका छाना भएका घरहरुकोे तथ्यांक संकलन गर्ने काम सुुरु भइसकेको गाउँपालिका कार्यकारी अधिकृत सरोज पोख्रेलले बताउनुभयो ।
इस्मा गाउँपालिकाले सूचना प्रविधिको विकास र नागरिकको सुसुचित हुने अधिकारलाई मध्य नजर गर्दै गाउँपालिकले आफ्नै लगानीमा रेडियो सञ्चालन गर्न २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
गाउँपालिकाका हरेक गतिविधिहरु नागरिकसम्म र नागरिकका समस्याहरु गाउँपालिकासम्म ल्याउन रेडियो सञ्चालनको तयारी गरिएको गाउँपालिका कार्यकारी अधिकृतले बताउनुभएको छ ।
त्यस्तै विद्यालयमा छात्राहरुको सुरक्षित महिनावारीका लागि स्यानेटरी प्याडको व्यवस्था गर्नका लागि समेत बजेट विनियोजन गरिएको छ । गाउँ सभामा शिक्षा, स्वास्थ्य, कृषि, संस्कृति तथा पर्यटन, प्राविधिक सीप, सुत्केरी भत्ता बृद्धि गर्नेदेखि प्रयोगशाला स्थापना गर्नेसम्मका योजना बजेटमा समावेश गरिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७४ बिहिबार ००:००  २ : १७ बजे