हरि अधिकारी, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा २० करोड ५० लाख रुपैयाँभन्दा बढी आन्तरिक राजश्व संकलन गर्न सफल भएको छ । यो संकलन नगरपालिकाले निर्धारण गरेको लक्ष्यभन्दा करिब पाँच करोड बढी हो ।
गएकाे पन्ध्रौं नगरसभा अधिवेशनमार्फत वाणगंगाले १५ करोड ८७ लाख रुपैयाँ अनुमानित आन्तरिक श्रोत संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । नदिनाला ठेक्कापट्टा, विज्ञापन करलगायत शीर्षकबाट मात्र १२ करोड १८ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको राजश्व शाखा प्रमुख मदन प्रसाद घिमिरेले जानकारी दिनुभयो । त्यस्तै, ११ वटै वडाबाट ४ करोड राजश्व उठाइएको छ भने मालपोत कार्यालयमार्फत घरजग्गा कारोबारबाट ४ करोड ४० लाख राजश्व संकलन भएको छ । यी सवै क्षेत्रबाट नगरकाे आन्तरिक राजश्व तर्फ २० कराेड ५० लाख बढि रकम संकलन गरेकाे हाे ।

नगरका सबै वडाबाट सिफारिस, घटना दर्ता, नाता प्रमाणिकरण, घरजग्गा कर, व्यवसाय नवीकरणजस्ता सेवाबाट पनि करिब ४ करोड राजश्व संकलन भएको छ । सबैभन्दा बढी राजश्व संकलन गर्ने वडामा क्रमशः वडा नम्बर ८, ४ र ११ परेका छन् भने चौथोमा वडा नम्बर २ रहेको छ ।
वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीका अनुसार आन्तरिक श्रोततर्फको यो संकलन हालसम्मकै उच्च हो । उहाँले “ब्राण्ड वाणगंगा, विलिभ वाणगंगा” को सोचसहित नीति तथा कार्यक्रम कार्यान्वयनले अपेक्षित सफलता दिलाएको बताउनुभयो । चालु आर्थिक वर्षमा नक्सा पास अभियानलाई तिब्रताका साथ अघि बढाइने बताउनुभयो ।
नगर प्रमुख चक्रपाणि अर्यालले आर्थिक सुशासन, विकास र समृद्धिका लागि योजनाबद्ध तरिकाले अघि बढेको वाणगंगाले राजश्व संकलनमा हासिल गरेको प्रगतिले सकारात्मक सन्देश दिएको उल्लेख गर्नुभयो । उहाँले लक्ष्यभन्दा बढी राजश्व संकलनमा सहयोग गर्ने सम्पूर्ण नगरवासी, राजनीतिक दल, संघसंस्था तथा कर्मचारीलाई धन्यवाद दिंदै आगामी वर्ष पनि यस्तै सहकार्य आवश्यक हुने बताउनुभयो ।
त्यस्तै, नगर उपप्रमुख रिता कुमारी चौधरीले नगरको समग्र विकासका लागि सबै सरोकारवालाको सहकार्य अपरिहार्य भएको उल्लेख गर्नुभयो ।







प्रतिक्रिया