अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९६ करोड १ लाख ९५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नगर उपप्रमुख गीता भाटले नगर सभामा बजेट प्रस्तुत गर्दै विकास, उत्पादन र रोजगारीलाई केन्द्रमा राखिएको बताइन । नगरपालिकाले यस पटक सडक पूर्वाधारलाई सबैभन्दा बढी प्राथमिकता दिएको छ ।
नगर गौरवका सडक, वडा गौरवका सडक तथा अधुरा योजनाहरू सम्पन्न गर्न ठुलो रकम छुट्टाइएको छ। सडक कालोपत्रे, स्तरोन्नति र मर्मतमार्फत वर्षभर सहज यातायातको व्यवस्था गर्ने लक्ष्य लिइएको छ ।
कृषि क्षेत्रलाई पनि बजेटको मुख्य आधार बनाइएको छ। तरकारी, फलफूल, मौरी पालन, कफी, केरा, अदुवा र बेसारजस्ता नगदे बालीको उत्पादन बढाउने तथा किसानलाई आधुनिक प्रविधिसँग जोड्ने योजना नगरपालिकाको छ । यसबाट स्थानीय रोजगारी सिर्जना हुनुका साथै किसानको आम्दानी बढ्ने अपेक्षा गरिएको छ ।

पर्यटन विकासका लागि डमरुदह, सुपा देउराली, बाणगंगा धाम, अमिता पार्कलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन गरिने भएको छ । नगरपालिकाले डमरुदहलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य पनि राखेको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रलाई समेत प्राथमिकतामा राखिएको छ। कक्षा १२ सम्मको निःशुल्क शिक्षालाई निरन्तरता दिइने भएको छ भने स्वास्थ्य सेवाको पहुँच विस्तार, युवा लक्षित कार्यक्रम, सीप विकास तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा सडक, शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरेको छ । यद्यपि आन्तरिक राजस्व अपेक्षा अनुसार नबढ्नु र सङ्घीय अनुदानमा सम्भावित कमी आउनु आगामी वर्षका मुख्य चुनौतीका रूपमा देखिएका छन् ।
समग्रमा शितगंगाको बजेट विकास निर्माण, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित देखिन्छ । बजेट घोषणाभन्दा पनि योजनाहरू कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् नगर बासीको चासोको विषय बनेको छ ।













प्रतिक्रिया