१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बुड्ढी–टिक्कर सडक भत्कियो, गुणस्तरीय सडक निर्माण नभएको भन्दै गुनासो



डिलाराम भुसाल, कपिलवस्तु, २२ भाद्र ।
लामो समयको पर्खाइ पश्चात निर्माण सुरु भएको बुड्ढी–टिक्कर सडक निर्माण कार्य गुणस्तरहीन भएको भन्दै स्थानियले गुनासो गरेका छन् । निर्माणकै क्रममा गुणस्तरहीन काम भएपछि उपभोक्ताले तत्काल सुधार गर्न माग गरेका छन् । ठेकेदारले रकम बचाउने खेलमा गुणस्तरहीन सडक निर्माण गरिरहेको र प्राविधिकहरुले समेत त्यसमा साथ लिएको स्थानीयको आरोप छ ।
बुड्ढी भृकुटी उच्च. मा.वि देखि टिक्कर सम्म निर्माण भइरहेको १० किमी लामो सडक मोर्मा देखि टिक्कर सम्मको ४ किमी सडक कमसल भएको स्थानीयको आरोप छ । सडक निर्माणकै क्रममा बेश, सबबेश थोरै हालेर माटो मात्र फिलिङ बढि गरेको कारण सडक धेरै स्थानमा च्यापिएको, भाइब्रेटर रोलरले सडक च्याप्ने कम्प्रेसर थोरै गरेको, ओटासिल एक लेयर गिट्टी हाल्दा सडकमा विटमिन (अलकत्रा) थोरै हालेको, गिट्टी नचप्किएको लगायतका कमजोरी ठेकेदारले गरेको स्थानीयबासी युवराज कुर्मीको आरोप छ । ठेकेदारले प्राविधिकलाई मिलाएर कमसल काम गराएको बताउदै उहाले तत्काल सुधार गर्न माग गर्नुभयो ।
विश्व बैंक द्धारा संचालित एसएनआरटीपी परियोजना अन्र्तगत दोश्रो चरणमा निर्माण गरिएको उक्त सडकको ठेक्का एमके डि लालीगुरास जेभीले ७ करोडमा ठेक्का लिएको थियो । ठेक्का सम्झौता अनुसार ढिलो काम सुरु गरेको ठेकेदार कम्पनीले समय भित्रै काम सम्पन्न गर्न हतार हतारमा थुप्रै कमजोरी गरेको अर्का स्थानीयबासी मंगल चौधरीले आरोप लगाउनुभयो । “एक लेयर गिट्टी हालेको कालोपत्रे सडक हातले कोट्याउदा कम्प्रेसर गरि च्यापेको बेस गिट्टी सम्म निस्कन्छ” उहाले भन्नुभयो । “जिरागिट्टीले बिटमिन समातेको छैन, सबै सडक किनारमा थुप्रो लागेका छन” चौधरीले थप्नुभयो । कमिशनको चक्करमा ठेकेदारले गुणस्तरहीन काम गर्दा समेत प्राविधिक इन्जिनियरले आँखा चिम्म गरेर बसेको मोर्माबासीको आरोप छ ।
डबल ओटासिल प्रविधिको उक्त सडक निर्माण कार्य जेष्ठ १५ भित्रै सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । तर अहिले सम्म जम्मा ७० प्रतिशत काम मात्र सम्पन्न भएको छ । काम सम्पन्न गर्न अझै समय लाग्ने भन्दै जिल्ला प्राविधिक कार्यालयले ठेकेदारको म्याद अषाढ मसान्त सम्म थप्ने प्रक्रिया अघि बढाएको छ । सडक निर्माण गर्ने अन्य ठेकेदारहरुले समेत डबल लेयरको उक्त सडक ठेक्का सम्झौता अनुसारको गुणस्तरीय नभएको दाबी गर्दछन् । सडक बढि न च्यापिएको, बेस सब बेस थोरै हालिएको कारण २ बर्ष भित्रै सडक च्यापिएर काम नाग्ने हुने स्थानीय ठेकेदारको दाबी छ । “अझै विटमिन समेत थोरै हालिएको छ, गिट्टी समातेको छैन, यस्तो अवस्थामा अर्को लेयर हाल्नु, नहाल्नु एउटै हो” उनले भने । स्थानीय समाजसेवी गोविन्द पन्थीले सडक निर्माण स्तरीय बन्नुपर्ने बताउनुभयो । “अहिले बन्दैमा विग्रने भए झन १ बर्ष पछि के होला” उहाले प्रश्न गर्नुभयो । निर्माण सम्पन्न नहुदै मर्मत गर्नुपर्ने भएपछि सडकको गुणस्तर खस्किने उहाको दाबी छ ।

परियोजना म्यानेजर इन्जिनियर राजेश शैनीले समुदायले सडक निर्माणमा चासो देखाउनु सकारात्मक भएपनि सडक स्तरीय बन्दै गरेको दाबी गर्नुभयो । “यो डबल लेयरको ओटासिल प्रविधीको सडक हो, राजमार्ग जस्तो कालोपत्रे होइन, अझै एक लेयर सडक बनाउन बाँकी छ ” उहाले भन्नुभयो । दुबै लेयरको काम भएपछि फर्मेसन हुन ३ महिना लाग्ने र बल्ल सडकको स्तर थाहा हुने शैनी बताउनुहुन्छ । ओटासिल प्रविधीमा प्राइमकोट हाल्न नमिल्ने भएका कारण अलि धुलो देखिएको बताउदै उहाले अलकत्रा ढिलो ब्लिडिङ हुने भएकाले तत्काल रिजल्ट नदेखिने उहाले जानकारी दिनुभयो । सडक च्यापिएका, भासिएका र विग्रिएको स्थानमा मर्मत पश्चात मात्र अर्को लेयर हालेर काम सम्पन्न गरिने बताउदै इन्जीनियर शैनीले स्तरीय काम हुनेमा स्थानीयलाई ढुक्क हुन आग्रह गर्नुभयो ।

सडक निमाणर््ा स्थानीय उपभोक्ता समिति अध्यक्ष इन्द्रमणी पौडेलले पनि गुनासो आएको स्वीकार्नुभयो । हामीले पटक पटक ठेकेदारलाई लागत स्टिमेट अनुसार काम गर्न आग्रह गरेका छौ, अब मानेन भने विरोधमा उत्रन्छौ उहाले भन्नुभयो । स्तरीय सडक निर्माण भए बुद्धभूमी नगरपालिकाको वडा नं. १ र ३ को विकासको मेरुदण्डको रुपमा हेरिएको यस सडकबाट त्यस क्षेत्रका किसान बढि लाभान्वित हुने देखिन्छन् । सो क्षेत्रका मुख्य ५ वटा गाउँका १ हजार घरधुरीले उक्त सडकबाट फाइदा पाउने छन् ।

 

प्रकाशित मिति : २२ भाद्र २०७४ बिहिबार ००:००  २ : ४५ बजे