१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

जीतगढीमा राख्ने भनिएको भारतीय पेन्सन क्याम्पको बिरोध



लक्ष्मण पोखरेल बुटवल, २३ भाद्र ।
बुटवलको फुलवारीमा निर्माण गर्न थालिएको भारतीय स्थायी पेन्सन क्याम्प रोक्न बुटवलबासीले आग्रह गरेका छन् । सरकारले क्याम्पको लागि जग्गा दिने निर्णय गर्दा जीतगढीको संवेदनशीलतालाई बिर्सेको भन्दै निर्णय सच्याउन नागरिक अगुवाहरुको माग छ ।

निर्णय नसच्चिए क्याम्प निर्माण रोक्नकै लागि आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् । बटौली संरक्षण सम्बद्र्धन समिति, मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले लिखित रुपमै क्याम्प निर्माण जीतगढीमा गर्न नहुने बताएका छन् ।

‘नेपालीले अंग्रेजलाई हराएको स्थानमै भारतीय झण्डा फहराउन नदिइने बटौली संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष रविन्द्र गोपाल लाकौलले बताउनुभयो ।

हाल भारतीय पेन्सन क्याम्प बनाउन दिइएको स्थान मणिमुकुन्द सेनको शीतकालीन दरवार भएको क्षेत्र रहेको उहाले बताउनुभयो । यहा जितगढी देखि नुवाकोट सम्मकै सुरुङमार्ग रहेको पूरातत्वविद्ले बताएका छन् ।

तत्कालीन ब्रिटिश राजदुत हड्सनबाट लिखित पुस्तकमा सो क्षेत्रमा सैनिक आवतजावत गर्ने झण्डै चार किलोमिटर सुरुङ रहेको उल्लेख्य रहेको छ । बुटवलबासीले भारतले क्याम्पको नाममा जीतगढी नै रोज्नुमा आशंका रहेको भन्दै कुनै हालतमा सो स्थान बनाउन नदिने बताएका छन् ।

प्राध्यापक दील साहनीले पेन्सन क्याम्पको नाममा भारतीय सैनिक ब्यारेक निर्माण गर्न थालिएको भन्दै सचेत हुनुपर्ने बताउनुभयो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत फागुनमा बुटवलमा भारतीय स्थायी क्याम्प निर्माणका लागि जग्गा दिने निर्णय गरेको थियो । सो निर्णय बमोजिम भारतले ५० वर्षका लागि स्वामित्व पाएको छ ।
पेन्सन क्याम्पमा अस्पताल, शैक्षिक संस्था लगायतका २ अर्ब लागतको संरचना बन्नेछ । बुटवलको नागरिक समाजले जुनसुकै संरचना बने पनि फुलबारी क्याम्प बनाउनका लागि उपयुक्त स्थान नभएको बताएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७४ शुक्रबार ००:००  ४ : ३७ बजे