१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

अवरुद्ध जटिल प्रसूति सेवा तीन महिनापछि सञ्चालन



रोल्पा, २६ भाद्र ।
लामो समयदेखि अवरुद्ध जिल्ला अस्पताल रोल्पाको जटिल प्रसूति सेवा भदौ तेस्रो सातादेखि पुनःसञ्चालन भएको छ ।
गत वैशाख अन्तिम सातादेखि दक्ष चिकित्सक नहुँदा अवरुद्ध भएको सो सेवा भदौ तेस्रो सातादेखि सञ्चालन भएको जिल्ला अस्पताल रोल्पाले जनाएको छ । सेवा अवरुद्ध हुँदा दर्जनौँ सेवाग्राही शल्यक्रियाका लागि जिल्ला बाहिर जान बाध्य भएका थिए ।
सेवा सञ्चालनसँगै तीन वटा जटिल प्रसूतिको शल्यक्रियासमेत गरिसकिएको जिल्ला अस्पताल रोल्पाका डा अनिल केसीले जानकारी दिनुभयो । सेवा सञ्चालन गर्न नयाँ चिकित्सक भर्नाका लागि दर्खास्त आह्वान गरिएको भए पनि कसैले आवेदन नदिएका कारण लामो समयसम्म सेवा अवरुद्ध भएको अस्पतालले जनाएको छ ।
अस्पतालमै मौजुदा चिकित्सकलाई जटिल प्रसूतिसम्बन्धी तालीम प्रदान गरेपछि सेवा सञ्चालन गर्न सम्भव भएको जिल्ला अस्पताल रोल्पाले बताएको छ ।
सेवा निरन्तरताका लागि कम्तीमा दुई जना दक्ष चिकित्सकको व्यवस्था गर्ने भन्दै नयाँ चिकित्सक भर्नाका लागि आवेदन गरिएको भए पनि कसैको पनि दर्खास्त नपरेको बताइएको छ ।
जटिल प्रसूतिका लागि एक जना मात्र चिकित्सक हुँदा सेवा निरन्तरतामा समस्या हुने सेवाग्राही गंगा थापाले बताउनुभयो । रासस

प्रकाशित मिति : २६ भाद्र २०७४ सोमबार ००:००  ७ : १९ बजे