१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

उपभोक्ताको खाद्य स्वच्छतामा पत्रकारको भुमिका महत्वपूर्ण !



भुपाल थापा, कपिलबस्तु, २९ भदौ । 
उपभोक्ताको खाद्य स्वच्छताका लागी पत्रकारले समाचार लेख्दा बिशेष ध्यान दिनुपर्नेमा तौलिहवामा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले बुधवार कपिलवस्तुका २० जना सक्रिय पत्रकारहरुका लागी आयोजना गरेको खाद्य स्वच्छता सम्बन्धि १ दिने तालिममा सो कुरामा जोड दिइएको हो ।
पछिल्लो समय विभिन्न किसिमका किराना पसल तथा विभिन्न व्यापारीक केन्द्रमा अखाद्य वस्तुहरु विक्रि वितरण हुने हुदा त्यस प्रति पत्रकारहरुले टिपोट गर्ने कुराबारे जोड दिइएको छ । तालिममा पत्रकारहरुले खाद्य अनुगमनका क्रममा देखिएका विषयवस्तुहरुलाई कुन रुपले संप्रेषण गर्ने लगायतका कुराहरुको बारेमा जानकारी गराइएको थियो ।
तौलिहवा स्थित तिलौराकोट होटलमा आयोजित तालिममा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण महाशाखा भैरहवाका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत हस्त बहादुर राईले उपभोक्ताले देख्न नसकेका वस्तुहरु पनि अखाद्य हुने हुदा खाद्य वस्तुमा प्रयोग गर्ने विभिन्न किसिमका स्वास्थ्य हानिकारक वस्तुहरु प्रयोग गर्न नहुने र त्यसको उचित अवलोकन गरि प्रयोगमा ल्याउनु पर्ने वताए ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण महाशाखा भैरहवाले गरेका विभिन्न स्थानको अनुगमन र त्यस्को निष्कर्ष पनि प्रस्तुत गरिएको थियो । तालिमको सहजिकरण जिल्ला खाद्य निरिक्षण इकाइ कपिलबस्तुका खाद्य निरिक्षक शंकर न्यौपानेले गरेका थिए ।
जिल्लाका २० जना क्रियाशिल पत्रकारहरुलाई दिईएको उक्त तालिमले खाद्य ऐनका साथ साथै खाद्य सुरक्षा, अखाद्य बस्तु, दुषित बस्तु लगायतका बिषयमा प्राविधिक बिषयहरु माथी प्रशिक्षण भएको थियो । कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले तालिमबाट सिकेका विषयवस्तुलाई आ–आफ्नो संचार माध्यममा लागु गरी सवैलाई जानकारी दिई सचेत गराउन आग्रह गरे । उनले तौलिहवामा आफुले हालै अनुगमन गरि केहि पसलहरुमा भेटिएका बिषादि मिसावट सामान, सरसफाई नगरी बनाईएका सामान र दर्ता नभएका पसलहरुका सामान आफुले नस्ट गरेको बताए ।
खाद्य मिसावट गरेको हो वा होईन भनि आफैले पनि घरायसी बिधिवाट छुटट्याउन सकीने प्रक्रियाका बारेमा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य अनुसन्धान अधिकृत बिक्रम लिम्बुले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७४ बिहिबार ००:००  ४ : १७ बजे