१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022

संविधान¸ सिमांकन र पहिचान



विष्णु घर्ती “भनभनेली” ।

पृष्ठभूमिः

नेपाली जनतालाई आम परिवर्तनको प्रत्याभूति प्रदान गर्ने प्रतिवद्धता अनुरुप नयाँ संविधान सहमतीका साथमा २०७२ सालमै जारी भैसकेको स्थिति छ । देश बनाउने नाममा संविधान फेर्ने¸ संविधान फेर्ने नाममा सिमाना हेरफेर गर्ने र सिमाना हेरफेर गर्ने नाममा पहिचानका विषयलाई उराल्नेजस्ता अनेकन खालका गतिविधिका हामी साक्षी किनाराका रोहवर लगातार भइरहेकै छौं । अब साच्चिकै रुपमा देशलाई परिवर्तनको मार्गमा गतिशील बनाउने हो भने पहिचान¸ सिमाना तथा संविधान र अन्य यस्तै विषयमा मात्र केन्द्रित भएर दिन विताउनुको कुनै पनि औचित्य देखिदै देखिन्न ।

संविधानः

संविधानलाई राज्य सञ्चालनको मियोको रुपमा विश्वभर नै मानिएको छ । संविधान संक्षिप्त तर सारभूत रुपमा सबैलाई समेटिएको कानुनहरुको पनि कानुन हो । यसैबाट देशको मुहार फेर्ने मुहानको पहिचान हुन्छ । अरुसँग सिमाना कोर्ने सूचकहरुको विकास हुन्छ । देशको मुहार फेर्दा जनताको मुहार मलिन पक्कै रहन्न नै । जनताको मुहारमा मुस्कान आउनु देश अधोगति तर्फ लाग्ने संकेत पक्कै होइन । देश निर्माणको मुहानको पहिचान गर्नेतिर नलागेर चुहान गर्ने र सोही चुहानबाट आफ्ना सिमित स्वार्थको परिपूर्तिमा तल्लिन भइरहने अघोषित संस्कृतिले जरा गाडेको छ । यस्ता जराहरु आजका दिनमा आफैले उखेल्ने पर्यत्न गरिरहेको पाइन्छ । अरुले उखेल्दा र आफूले उखेल्दाको विचार र विश्लेषण भइरहेको छ । त्यसैले संविधान निर्माणमा ढिलाई भएको मात्र होइन अन्योलता समेत छताछुल्ल भइरहेको पनि छ । साराका सपनाहरुको साकार रुप प्रदान गर्ने संगालो संविधान भएको हुँदा सदावहार रहने सदासयताका साथमा बन्नुको विकल्प अबका दिनामा छदै छैन ।

सिमांकनः

सिमाना चाहे सानो होस् वा ठूलो¸ चाहे स्थानीय होस् वा राष्ट्रिय¸ अन्तराष्ट्रिय जे सुकै होस् र जस्तो सुकै किन नहोस् हरेक तह र तप्कामा स्पष्ट रुपमा सिमा कोरिएकै हुनु पर्दछ । नयाँ सिमाना निर्माणमा पनि कमभन्दा कम विवाद आउने गरी समाधानतर्फ उन्मुख भइ काम सुचारु गर्नु पर्ने हुन्छ । सबै पक्षले संयमता¸ धैर्यता र सकारात्मक सोंचका साथ अगाडि लम्कनु पर्दछ । संविधानमा जुन प्रकारले सिमांकनको चर्चा मात्र नभई बडो उचाइका साथ उछालिएको विषय छ¸ त्यसले प्रकारान्तरमा गएर परस्पर खालका समस्याहरु उत्पन्न गरिरहने स्थिति देखिएको छ । वर्तमान सन्दर्भमा नेपालको नव संरचनाको जुन प्रक्रिया अपनाइदै छ¸ त्यसमा सिमांकनको सन्दर्भ धेरै पहिलेदेखि नै निरन्तरको वहसको विषय बनेको स्थित हो । उहिले ८ सय जिल्लाको कुरा हाम्रै सामु आएकै हुन् । नगरपालिका र गाउपालिकाका सिमानाहरु कोरिएका कोरिएकै छन् । थुप्रै गाविसहरु गाभिए । संघीयताका अंशहरु लगाउदै जाँदा केही संख्याका प्रत्येक अंकहरुमा रात दिनजसो चर्काचर्की हुदै मारामारसमेत मच्चीरहेकै हो । संघहरुको सिमांकन अहिले आएर शान्तजस्तै भएको छ । जनताको राय बुझ्न जानुभन्दा अगाडि आयोगबाट सिमांकन र नामांकन तोक्नको लागि भएको सहमती केही मात्रामा भए पनि दीर्घकालीन हो कि भन्ने पनि चर्चा चलेको पाइन्छ । सर्वमान्य सिमांकनको खोजी आफैबाट गर्नु पर्ने हुन्छ । तर नाम मात्रको आफैबाट हुन थाल्दा यो परिस्थितिको सिर्जना भयो कि भन्ने भनाइहरु पनि सुन्न पाइन्छन् ।

पहिचानः

जो जसलाई पनि चिन्ने र चिनाउने काम जरुरी छ । म “विष्णु भनभनेली” हो भनी चिनाउन निर्वाध रुपमा मैले पाउनु पर्दछ । तर “विष्णु भनभनेली” भन्दा नाक खुम्च्याउने¸ मुख लेप्रेयाउने र मुन्टो बटार्ने बनाउनु मेरो धर्म¸ दायित्व र कर्तव्य पनि होइन । “विष्णु भनभनेली” भन्दा गैर भनभनेलीलेसमेत गौरव गर्न सक्ने विशेषताहरुको निर्माण गरिरहनु मेरो दैनिक कार्य हो । र सोही रुपमा चिन्तन मनन गरिरहनु अर्को महत्वपूर्ण पाटो समेत हो भनी सम्झिरहनु पर्दछ । भनभनेली भएकाको लागि बनेका विशेषताहरुको संरक्षण¸ प्रवर्धन तथा उचित खालको स्थान दिने जिम्मेवारी भनभनेलीकै हो भने भनभनेली हुनका लागि बन्ने विशेषता र विषयमा केन्द्रित हुनु¸ तिनीहरुलाई उजिल्ल्याउनु र फैलाउनु पनि उनीहरुकै धर्म हो ।

बनेका पहिचानको निमिट्यान्न पार्नु कसैको पनि भलोको विषय हुन सक्दैन । कुभलो चिताउनेहरुको भलो भएको इतिहास दीर्घकालीन बनेको कतै पनि देख्न सकिदैन । आफ्नो बचाउनका लागि अरुमाथी कुलो लगाउनेहरुमाथी भेलले कहिल्यै छोडेको छैन । यसरी पहिचानका नाममा लड्ने¸ लडाउने र रमिता हेर्ने जो कसैको पनि पहिचान सधै कायम रहन्छ भनेर भन्न सकिने अवस्था छैन । राष्ट्र रहे राष्ट्रियताको पहिचान बनाउन केही गाह्रो छैन । भनभने रहे भनभनेली बन्नलाई केको चिन्ता¸ केको पीर < पद्धतिका आधारमा चल्ने परिपाटीको अवलम्वन नहुँदासम्म राज्य सञ्चालनका धेरै चरणमा पहिचानका मुद्धाहरु मुखरित भइरहने परिस्थिति आइरहने निश्चत पनि हो भन्न सकिन्छ । पहिचानहरु हिजोका मात्रै होइनन् र छैनन् पनि । आज पनि बनिरहेका छन् । जसरी हिजोका पहिचानहरुको महत्त्व आज बढीरहेको छ¸ त्यसैगरी आज बन्दै गरेका पहिचानहरु भोलिका दिनहरुमा अझ वलवान हुने विषयमा कुनै प्रकारको दुई मत हुनै सक्तैन । आफ्नो आफ्नो पहिचान जरुरी छ । पहिचानहरुको पनि महापहिचान राष्ट्रियता बनाउनु हामी सबैको आजको सामुहिक दायित्व हो । सबैले सबैलाई सकार्नु पहिचानहरुलाई सपार्नु पनि हो ।

आगामी कदमहरुः

राजनीतिक क्षेत्रमा आएको परिवर्तित उपलब्धिलाई संस्थागत गर्नु आजको आवश्यकता हो । आवश्यकताको नाममा व्यक्तिगत स्वार्थको हावी भएको महशुस धेरैमा छाएको पाइन्छ । यस्तो खालको सन्देश फैलनु देश बनाउन कस्सिएकाहरुका लागि पक्कै पनि शोभनीय होइन । सामुहिक सद्भावका साथमा समग्र समाजको समृद्धिको लागि व्यक्तिगत स्वार्थको तिलाञ्जली दिन सक्नु सच्चा रुपमा परिवर्तित उपलब्धिलाई संस्थागत गर्नु आजको खास आवश्यकता हो भनी जनताले बुझेका छन् । यी सबैका लागि समयमै संविधान¸ उचित सिमांकन र वास्तविक पहिचान कायम रहिरहोस् । उन्नती¸ प्रगति समान रुपमा होस् । सिमांकन सामिप्यताको सूचक बनोस् । संविधान कसैको होइन¸ सबैको बनोस् । पहिचान बोझिलो होइन¸ पारिलो बनोस् ।

घर्ती=वीजी@जीमेल=कम

प्रकाशित मिति : २ आश्विन २०७४ सोमबार ००:००  १२ : ४७ बजे