१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

विजयादशमी : थारु समुदायमा यस्तो छ चहलपहल



सरिता थारु, कपिलवस्तु, १२ असोज ।
हिन्दूहरुको महान पर्व दशैंको रमझम शुरुभएको छ । थारु समुदायले बुधबार घरमा फूलपाती भित्र्याए पनि थारु समुदायमा घर तथा ढिक्री बनाउने सरसामानको सरसफाई (पइन र सुप्पा धुने) गर्ने काम गरेका छन् ।
थारु समुदायले मुख्य तीन दिन दशैं (दशेहरा) मान्ने गर्छन् । जसअनुसार फूलपाती (सप्तमी) का दिन ढिकरी बनाउने भाडा पइन धुने, अष्टमीका दिन ढिक्री बनाएर साँझ कुलदेवतालाई चढाउने, नवमीका दिन कुखुरा काटेर बल चढाई पर्व मनाउने र दशमीका दिन टीका जेंवरा, बेबुरी, र डवना लगाएर पूर्खाबाट आशीर्वाद थाप्ने गरिन्छ ।
ढीक्री परिकारलाई प्रसादकोरुपमा खान दिन चलन छ । देवताको पूजा गरेर देवतालाई प्रसादकोरुपमा चढाईसकेपछि सर्वसाधारण, घरका सदस्यलाई नयाँ चामलको पीठोबाट बनाइएको ढिक्री अरुलाई प्रसादको रुपमा खान दिने प्रचलन छ ।
नवमी अर्थात् बलचढाईको दिन विहान पख ४ बजे प्रचलन अनुसार भाले, खसीबोका र कुविन्डोको बली दिने र पितृको पूजा गर्ने गरिन्छ । सोही दिन साझा पख नजिकैको नदि, ताल, पोखरी, खोलामा गई दशैभरी चढाइएको फुलपाती र पृतीलाई सेलाउने अर्थात विसर्जन गर्ने गरिन्छ ।
सोहीअनुसार दशमी अर्थात् टीकाका दिन विहानैदेखि थारु समुदायले आफ्ना पूर्खा तथा मान्यजनको हातबाट टीका ग्रहण गर्ने र आशीर्वाद लिने प्रचलन छ । टीकासँगै जमरा, बेबुरी र दौना फूल कान र शीरमा लगाउने प्रचलन छ ।
थारु गाउँघरमा आज विहानै ढिक्री पार्ने सरसामान धोइ पखाली घाममा सुकाइएको छ । पैना, सुप्पा, भाँडा, आवश्यक सबै सामानलाई सफा सुग्घरकासाथ धोएर घाममा सुकाउने काम थारुहरुले गर्दछन् ।

 

प्रकाशित मिति : १२ आश्विन २०७४ बिहिबार ००:००  २ : ४१ बजे