१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

तम्घास –रिडी सडक एकतर्फी खुल्यो, जोखिम कायमै



गुल्मी, १३ असोज ।
सुख्खा पहिरोले अवरुद्ध बनेको तम्घास–रिडी सडक तीन दिनपछि खुलेको छ । रेसुंगा नगरपालिका १३ स्थित भंगारीमा बुधवार साँझपख पहिरो खसेपछि सर्वसाधारण मर्कामा परेका थिए ।
बिहीबार दिनभर सदरमुकाम तम्घासमा रहेका साना मेसिनले पहिरो पन्छाउन नसकेपछि पाल्पाबाट मगाइएको ठूलो स्काभेटर प्रयोग गरेर शुक्रबार दिउँसोबाट बाटो खुलाइएको हो ।
शुक्रवार बिहानदेखि निरन्तर ठूलो स्काभेटर र साना मेसिनले काम गरेपछि दिउँसोबाट एकतर्फी रुपमा सडक खुलेको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए । सडक खुलेसँगै ती दिनदेखि बीच बाटोमै अलपत्र परेका सवारी साधनहरु आवत जावत गर्न थालेका छन् । दशैंको टीकाको अघिल्लो दिन एकतर्फी भए पनि सडक खुलेपछि स्थानीयबासीले राहत महसुस गरेका छन् ।
अहिले सडक खुले पनि सो स्थानमा धेरै भूभाग चर्किएकाले पुनः सुख्खा पहिरो खस्ने सम्भावना भने कायमै छ । अझै पहिरो खस्ने सम्भावना रहेकाले केहि दिन पहिरो हटाउनको लागि स्काभेटर तयारी अवस्थामै राखिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
सोमबार बिहानदेखि नै पहिरो खस्ने थालेको थियो । सानो पहिरो भएकाले पन्छाउँदै सडक खुलाइए पनि बुधबारदेखि पूर्णरुपमा बन्द भएको थियो । बाटो बन्द भएपछि दशैं मान्न घर जानेहरु बढी मर्कामा परेका थिए । बाटो बन्द भएपछि केही यात्रुहरुले वैकल्पिक सडक प्रयोग गरे पनि केही पैदलै गन्तव्यतर्फ लागेका थिए । दशैंका लागि ल्याइएका फलफूल तथा तरकारीहरु ढुवानी गर्न नसक्दा बिग्रिएका छन् ।
उक्त सडक एक वर्ष पहिले बिस्तार गरिएको थियो । सडक बिस्तारको क्रममा भौगोलिक अवस्था नहेरी डोजरले कटान गर्दा अहिले ठूलो पहिरो झरेर समस्या झेल्नु परेको स्थानीयको गुनासो छ । स्थानीयबासीले भंगारीको पहिरोलाई विगतमा पृथ्वी राजमार्गको कृष्णभीरमा झर्ने पहिरोसँग तुलना गर्ने गरेका छन् ।

 

प्रकाशित मिति : १३ आश्विन २०७४ शुक्रबार ००:००  १० : ३३ बजे