१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नौमुरेको रोदन, पञ्चायतमा सुरु, प्रजातन्त्र पछि चर्चामै सेलायो



सलिम अन्सारी, प्यूठान, १८ असोज ।
दुई सय ४५ मेगावाट क्षमताको नौमुरे जलबिद्युत परियोजना दशकौ देखि चर्चामै सिमित छ । झिमरुक र माडी नदीको संगम प्युठान र अर्घाखाँचीको सिमानामा पर्ने नौमुरे क्षेत्रमा सो आयोजना अगाडि बढाउने चर्चा चलेको तीस बर्ष भएपनि कुनै काम अघि बढ्न सकेको छैन ।
सरकारले यो योजनाको चर्चा र तयारी गरेको लामै समय भएपनी निर्माण प्रक्रियामा प्रबेश नगरेकाले थप गति लिन नसकेको हो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलो पटक भारत भम्रण गर्दा भारतले सो आयोजनालाई उपहारका रुपमा निर्माण गरिदिने वचन दिएको थियो । तत्कालिन पञ्चायत सरकारले नेपालकै सस्तो लगानिमा निर्माण गर्ने आयोजनाका रुपमा रहेको भन्दै २०४४ देखि २०४६ साल सम्म सर्बेक्षण समेत गरेको थियो । बहुदल आएपछी आयोजनाको काम रोकिएको स्थानिय बताउँछन ।
सरकारले नीति तथा कार्यक्रममै एक प्रदेश एक जलाशय युक्त जलबिद्युत आयोजना अन्तर्गत नौमुरेलाई घोषणा गरेपनी अझैसम्म कुनै काम अघि बढेको छैन । “चुनावमा उठ्ने उम्मेद्धवारले जित्नका लागि चुनाबी नारा बनाए ।“ अर्घाखांची जलुकेका पुर्ब गाविस अध्यक्ष पिताम्बर सारुले भन्नुभयो,“नौमुरे तिनदशक देखि चर्चा मै अल्झिएको छ ।” सरकारी उदासिनताले आयोजनाको काम अल्झिएको उहाँको भनाइ छ । उहाले अर्घाखांचीबाट टोप बहादुर रायमाझी उर्जामन्त्री र प्युठानवाट वामदेव गौतम गृहमन्त्री हुंदा समेत नौमुरेले गति नलिएकाले यो क्षेत्र बिकासमा पछि परेको बताउनुभयो ।
आयोजनाबाट बिद्युत उत्पादन पनि गर्ने र दाङ कपिलबस्तु हुँदै बिहार सम्म सिंचाई सुविधा उपलव्ध गराउने योजना रहेको छ । २०७१ साउनमा सरकारले सो आयोजना आफै बनाउने घोषणा गर्दै पानी भारतलाई दिन नसक्ने बताएको थियो । भारतले नौमुरे जलाशययुक्त बनाइदिने तर पानी भारतको बिहार लैजाने प्रस्ताव राखेपछि नेपाल सरकारले यो योजना आफै बनाउने निर्णय गरेको बताइन्छ । नेपाल बिद्युत प्राधिकरणले नौमुरे आयोजनाको गत आर्थिक बर्षमै बिस्तृत अध्ययन प्रतिबेदन डिपिआर तयार पार्ने भने पनी यो काम समेत अघि बढ्न सकेको छैन ।
परियोजनाको डिपिआर गर्नका लागि नेपाल सरकार उर्जा मन्त्रालयले रु. २० करोड रुपैया बिनियोजन गरेको थियो । ९० मिटरको बांध निर्माण गरि नौमुरेलाई बहुउद्देयिय योजनाका रुपमा बिकास गर्न सन २००७ मा ३२ करोड अमेरिकि डलर लाग्ने अनुमान गरिएको थियो । ३० बर्षअघि सर्बे थालेर बिचमै रोकिएको यो जैविक बिबिधता, पर्याबरण र पर्यटनका हिसाबले पनि नेपालकै नमुना जलबिद्युत परियोजना अन्तर्गत पर्दछ ।
नदिको वहाव सुख्खायाम र वर्षायाममा पनि यौटै परिणाममा हुने भएकाले बिद्युत निकाल्न झन्झटिलो नभएको बिज्ञहरुको सुझाव छ । राष्ट्रीय गौरब र बहुउद्देयिय आयोजना भएकाले सरकार र निजि क्षेत्रको लगानिमा यस्लाइ पुर्णता दिने गरि काम गर्नुपर्ने स्थानियको सुझाब छ ।

प्रकाशित मिति : १८ आश्विन २०७४ बुधबार ००:००  २ : ३० बजे