१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

वाह ! त्यो दशैँ



शिब भुसाल ।
निधारभरी राता अक्षता, कानमा पहँेला जमरा, अरुवेला बारीको डोरोको बोटमा फलेको आरुको पनि पैसाले बेच्ने बुढारे कान्छाबाले, ए साना केरा खा, भन्दै जबरजस्ति गर्ने दिन् । वर्षभरी गतिलो शब्द सुन्न नपाईने माँईलेयाँले मुखले मात्रै भएपनि सुन्दै आनन्द लाग्ने आशिर्वाद दिने दिन् । नजिकको मामाघर भएकाले होला जहिले गएपनि खालि निधार र खालि हात पठाउने मामाघरमा पनि खाममा ५० रुपैँयाको पड्किने नोट पाईने दिन । टाढा भएर होला महिनौँमा आउने ठुलीदिदी टीका लगाउन आउने दिन । दिनभरी गाउँभरी डुलेर टिका लगाउने अनि प्रत्येको घरमा विभिन्न परिकार खाँदा अरुदिन सारै मिठो हुने खानेकुरा पनि हेर्नै मन नलाग्ने दिन् । आफुले नपाएपनि सानी दिदीले जम्मा गरेको दक्षिणा रु. २ र ५ का नोट गन्दा गन्दै एक दुईओटा नोट लुकाउन पाईने दिन् । दाईले लाहुरबाट पठाईदिएका नयाँ लुगा लगाएर हिँड्न पाईने दिन । त्यो पिङ्ग खेल्न पाईने दिन । स्कुलपनि लामो समय सम्म विदा हुने हुँदै छुट्टै आनन्दको दिन । यी सबै कुरा दुई अक्षरको “दशैँ” भन्ने शब्दको परिभाषा भित्र अटाउँथे, त्यो बालापनको उमेरको मेरो मनमा ।
दशैँको रौनक, दशैँको महत्व अनि दशैँको परिभाषा बढ्दै जाने उमेरका खुट्किलाहरुसँगै परिमार्जित हुँदै जाँदा रहेछन् । अब मेरा जिवनमा त्यस्ता दशैँहरु कहिल्यै आउने छैनन् । तीथि र मिती अनुसार हरेक वर्ष दोहोरीने दशैँहरु त आउँदै छन अनि गई नै रहेका छन् । तर त्यो बडादशैँ । न कसैको चिन्ता, न कुनै गुनासो । वाह ! ती दशैँहरु, अहिले एकाग्र भएर सम्झिँदा त यति आनन्द आउँछ भने वास्तविकतामा कस्तो थियो होला ? आफैले प्रस्न गर्छु अनि आफ्नै मनले दिने जवाफमा रमाउँछु ।
त्यो बेलाको दशैँ र अहिलेको दशैँ विच तुलना गर्छु । पहिलेको दशैँको भाव मनले अनुभुती गर्दथ्यो तर अहिलेको दशैँको भाव त कानले मात्र अनुभुती गरिरहेको छ । त्यो वालापनको दशैँको परिभाषा र अहिलेको परिभाषा ठ्याक्कै उल्टो लाग्छ । त्यतिबेला आफ्नो अधिकार मात्र प्रयोग गरिन्थ्यो, नपाए मागिन्थ्यो । जे चाहियो आमासँग मागे पुग्थ्यो । आफुले पुरा गर्नुपर्ने कर्तव्य पनि थिएनन । त्यो उमेर ठ्याक्कै भन्नुपर्दा अहिलेका नेपालका राजनैतीक दलको चरित्र जस्तै थियो । जस्तो कि मेरी आमा मेरोलागी सरकार थिईन् । जे माग्यो त्यो पुरा गर्नै पर्ने । तर अहिलेका दशैँहरु त जिम्मेवारी बोकेर आईदिन्छन् । कर्तव्यको पालना गर्नै पर्छ । पहिलाको दशैँ आफै आउँथ्यो, सारै रमाईलो गराएर जान्थ्यो तर अहिलेको दशैँ त आफुले ल्याउनु पो पर्छ । त्यतिबेला दशैँ आईदियोस फर्केर नजाओस हुन्थ्यो तर अहिलेको दशैँ केहि वर्ष विराएर आईदिए हुन्थ्यो जस्तो लाग्छ ।
प्रत्येक वर्ष आउने र जाने दशैँहरुलाई स्वागत गर्दा गर्दा पनि करिब करिब जान्ने भएदेखि १७÷१८ ओटा दशैँलाई विदाई गरियो होला । यी विचमा पछिल्ला केहिँ दशैँहरु फेसबुकका पर्दामा र म्यासेन्जरका इनबक्समा मात्र सिमित भएका छन् । बडादशैँको शुभकामना भनेर कसैले बनाएका रेडिमेड भिडियो तथा फोटोहरु ईनबक्समा आइरहेकै छन् र यताबाटपनि सोहि चाहेँ भन्ने जवाफ पनि गईरहेको छ ।
म जस्ता लाखौँ नेपाली युवाकालागी अधिकांश दशैँहरु आँखा र कानमा मात्र सिमित छन् । निधार अनि मन सम्म त अक्कल झुक्कल मात्र छुने गर्दछन् ।
म लाखौँ युवाहरुको एक प्रतिनिधि पात्र हुँ जो आफ्नो देश हेर्नकालागी विश्वको नक्सामा सर्च गर्नुपर्छ । प्रवास । यहाँको दशैँ फेसबुकमा देख्ने आँखा र दशैँका गितहरु सुन्ने कान भन्दा भित्र जानै मान्दैन, निधारमा त झन कसरी पुगोस ।
प्रवासमा रहने नेपालीकालागी केको दशैँ, विहानै उठ्यो, मोवाईलको फेसबुक अनि ट्वीटर नामक एप मार्फत ह्याप्पी दशैँ लेख्यो अनि लाग्यो आफ्नै काम अनि जिम्मेवारी तिर ।
सोँच्छु, हिँजो कोहि मेरो परिवारको जिम्मेवारी बोकेको सदस्यले दशैँ यस्तै गरी बनाएको थियोहोला, र त म त्यति खुसीकासाथ दशैँ मनाउन पाएको थिएँ । नयाँ लुगा लगाएर हिँड्न पाएको थिएँ । त्यो समयको दशैँ मेरो बसमा थियो, त्यो दशैँ मेरा निम्ती आउँथ्यो र म रमाएँ तर अहिलेका दशैँहरु त्यो मेरो दशैँलाई स्मरणयोग्य बनाउन सहयोग गर्नेहरुकालागी आएको हो । उनिहरु हुन मेरा बा आमा । हो त्यसैले म उनिहरुको खुसीका निम्ति यी दशैँहरुको प्रवाह गरिरहेको छैन् ।
जती नै ह्याप्पी दशैँ भन्दै सामाजिक सञ्जालहरु रंगिएपनि अधिकांश नेपालीको परिवारमा कम्तिमा एउटा सदस्य अपुरो छ । हामी नेपालीको परिवारमा दशैँको खुसी आउनकालागी परिवारको एउटा सदस्य विदेशीनुुपर्ने बाध्यता नै छ । अहिलेका चार्डपर्व सित्तैमा मनाउन पाईँदैन, खर्च गर्नकालागी अधिकांश नेपालीको परिवारमा विदेशकै पैसा प्रयोग भएको छ ।
त्यसैले म जस्ता लाखौँ नेपाली युवाहरु विदेशमा छौँ र त हाम्रा बा खसी काटम भन्दै गाउँमा हिँडिरहनुभाछ, हाम्री आमाको मन खुसी छ । श्रीमतीले उज्यालो मुख बनाएर सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै मिस यु बुढा भन्छन् । भाईले नयाँ बाईक चढेको छ । आफन्त नजिकिएका छन् । पहिला दक्षिण नपाईने डरले दशैँमा टिका थाप्न नआउने आफन्तहरु पनि अहिले ओईरो लाग्न थालेका छन् ।
युवा सञ्चारकर्मी भुसाल हाल उत्तर कोरीया छन्

प्रकाशित मिति : १८ आश्विन २०७४ बुधबार ००:००  ३ : ३८ बजे