६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

दीपावली पछि सक्रिय राजनीतिमा होमिने छुः राजदुत उपाध्याय



दिपक अनुरागी, कपिलवस्तु, असोज २३ ।

भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायले दीपावली पश्चात आफु सक्रिय राजनीति र सामाजिक जीवनमा फर्किने बताउनुभएको छ ।

कपिलवस्तु जेसिसले जिल्लाको चारनम्बर जीतपुरमा आइतबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै राजदुत उपाध्यायले आफु राजदुतबाट सफल अवतरण गर्न चाहेको भन्दै सरकार समक्ष राजीनामा दिएको प्रष्ट पार्नुभयो ।

आफुले राजदुतबाट राजीनामा दिएपनि दीपावली सम्म राजदुतकै भुमिकामा रहेको भन्दै सरकारले राजीनामा स्विकृत गरेपछि मात्रै राजनीतिमा होमिने बताउनुभयो ।

कपिलवस्तु निवासी समेत रहनुभएका उपाध्याय यहाँबाट प्रतिनिधीसभा निर्वाचनमा लड्ने तयारी गर्नुभएको छ । प्रतिनिधीसभा क्षेत्र नम्बर १ बाट उहाँको नाम सिफारिस भैसकेको छ ।

कांग्रेस पार्टी कार्यकर्ताको समेत बाक्लै उपस्थिती रहेको उक्त अवसरमा बोल्दै उहाँले राजदुत पदको राजीनामा स्विकृत नभएकोले अहिले राजनीतिक विषयबस्तु माथि केहि नबोल्ने तर जिल्लाको विकासमा अझै केहि गर्ने मनशायले आफु राजनीति जीवनमा फर्किन चाहेको प्रष्ट्याउनुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका राजदुत उपाध्यायले मित्र राष्ट्र भारत र नेपाल विचमा देखिएका केहि असहज परिस्थितीको आफुले कुशलता पूर्वक समाधान गरेको दाबी गर्नुभयो ।
राजदुतको जिम्मेवारी सम्हालेर भारत गएपनि आफुले नेपाली जनता र राष्ट्र माथि शिर निहुरिने काम नगरेको बरु शिर उठाउने काम गरेको बताउनुभयो ।

नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य समेत रहनुभएका उहाँले अहिले देशको राजनीतिक घटना केहि फरक ढङ्गले सिर्जना भएको प्रति संकेत गर्दै अब देशलाई तीव्र आर्थिक समृद्धिको दिशामा अगाडी बढाउन राजीनतिक दलहरु जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड थियो ।

 

जेसिस बर्ष १७ का अध्यक्ष कृष्ण चौधरीको अध्यक्षता र महासचिव राजेन्द्र अर्यालको सञ्चालनमा भएको उक्त कार्यक्रममा वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, वडा नम्बर १ कि वडा अध्यक्ष बाल कुमारी अधिकारी, जेसिसका पूर्व अध्यक्ष रुक बहादुर भुसाल, वाणगंगा यातायात व्यवसायी समितिका अध्यक्ष विष्णु न्यौपाने लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७४ सोमबार ००:००  १ : ४८ बजे