१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

“निर्वाचनको सुनिश्चितताका लागि मात्रै हामी सरकारमा छौँ ” -प्रचण्ड



काठमाडौँ, ३० असोज ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन गराउने दायित्वबाट कोही कसैले पनि छुट नपाउने बताउनुभएको छ । उहाँले भन्नुभयो, “नेपाली काँग्रेस र आफ्नो पार्टीबीच प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गराउने र संविधान कार्यान्वयन गराउने विषयमा सहमति भएको हो । सो सहमति कार्यान्वयन गराउन हामी प्रतिबद्ध छौँ । त्यसबाट दायाँ बायाँ हुन दिँदैनौँ ।”
पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय पदाधिकारीको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सरकारबाट माओवादी हटिदियोस् भनेर बाहिर गरिएको प्रचार अनैतिक भएको उल्लेख गर्नुभयो ।
नेकपा (एमाले)सँग आगामी निर्वाचनमा तालमेल तथा पार्टी एकताकै प्रक्रिया शुरु गरेपछि नेपाली काँग्रेसका केही नेताले माओवादी सरकारबाट हटिदियोस् भनेर प्रचार गराएको भन्दै अध्यक्ष दाहालले भन्नुभयो, “निर्वाचनको सुनिश्चितताका लागि मात्रै हामी सरकारमा छौँ । सरकारमा रहिरहनुपर्छ भन्ने छैन । तर निर्वाचन तोकिएको समयमा नै हुनुपर्छ । त्यसमा तलमाथि गर्न पाइँदैन ।”
प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष कमल थापालगायत तीन मन्त्री नियुक्त गरेपछि माओवादी मन्त्रीलाई कामचलाउमा रुपान्तरण गर्ने वा हटाउनेसम्म तयारी भएको भन्ने आफूले पनि सुनेको भन्दै उहाँले आज नै आफूले प्रधानमन्त्रीसँग छलफल गर्ने र आवश्यक निर्णय लिने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले संघ र प्रदेशको निर्वाचनसम्म काँग्रेसको सरकारलाई समर्थन गर्ने र निर्वाचन सम्पन्न गर्ने सहमति गरेका थियौँ । उक्त सहमतिमा हामी अहिले पनि इमान्दार छौँ । यो बीचमा प्रधानमन्त्रीले राप्रपाका नेताहरुलाई मन्त्रीमा नियुक्त गर्नुभएको छ । हाम्रा मन्त्रीहरुको अवस्था के हुन्छ ? भन्ने चासो पनि व्यक्त हुन थालेको छ । आजै प्रधानमन्त्रीसँग भेट्छु, उहाँले चाहेको के हो ? त्यसैका आधारमा हामी निर्णयमा पुग्छौँ ।”
अध्यक्ष दाहालले नेकपा (एमाले)सँग तार्किक निष्कर्षका आधारमा पार्टी एकता हुने भएकाले कुनै पनि दुविधा र गुनासो नगर्न समेत आग्रह गर्नुभयो । “दुवै पार्टीका सकारात्मक विषयलाई लिएर समाजवादी क्रान्तिका लागि पार्टी एकता र चुनावी तालमेल गर्न लागिएको हो ।
नकारात्मक विषय छाड्दै जाने र समाजवादी क्रान्तिको आधार तयार पार्ने सहमति भएको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “जनयुद्ध, जनआन्दोलनलगायत राजनीतिक परिवर्तनका आन्दोलनलाई हेर्ने र मनन गर्ने सवालमा समेत दुवै पार्टीबीच मतैक्य रहेको छ । कुनै दुविधा छैन ।”
दुई पार्टीको कार्यदलले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवार छनोटका विषयमा छिट्टै सहमति हुनेसमेत उहाँको कथन थियो । अध्यक्ष दाहालले संविधान कार्यान्वयनको प्रक्रियाको महत्वपूर्ण कार्यभारका साथ हुन लागेको निर्वाचनलाई सफल बनाउन युवा विद्यार्थीको प्रमुख भूमिका हुने भन्दै निर्वाचनमा केन्द्रित हुन समेत निर्देशन दिनुभयो ।
अखिल (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार पदाधिकारी बैठकले विभिन्न राजनीतिक तथा शैक्षिक मुद्दाका विषयमा निर्णय गर्नेछ ।

प्रकाशित मिति : ३० आश्विन २०७४ सोमबार ००:००  ९ : ३५ बजे