१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

रामपुरमा फूलको अभाव



रामपुर, पाल्पा, २ कात्तिक ।
दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई प्रगाढ बनाउने तिहार पर्वमा अनिवार्यरुपमा प्रयोग हुने सयपत्री र मखमली फूलको रामपुरमा अभाव भएको छ ।

यहाँ व्यावसायिकरुपमा पुष्पखेती नहुँदा फूलको अभाव सिर्जना भएको हो । यस पर्वलाई दिदीबहिनी र दाजुभाइबीच एकापसमा माया, प्रेम, खुशी साटासाट गर्ने तथा फूलैफूलको पर्वका रुपमा लिइन्छ ।

तिहारमा सयपत्री र मखमली फूलको मालाको निकै महत्व हुन्छ । गाउँघरमा फूलको उत्पादन कम हुन थालेपछि तिहारमा फूलको अभाव भएको हो । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि चिरायुको कामना गर्दै गलामा सयपत्री र मखमली फूलको माला लगाइदिने चलन छ ।

फूलको अभावमा अहिले रामपुरका बजारमा दैनिक ३०० देखि ५०० वटा सम्ममा प्लास्टिकको फूलको माला बिक्री हुन थालेको व्यापारी बताउँछन् । अहिले तिहार पर्वका लागि एक व्यापारीले दैनिक १०० वटाभन्दा बढी प्लास्टिकको फूलको माला बिक्री गर्ने गरेका छन् ।

रामपुर क्षेत्रमा सयपत्री र मखमली फूलको अभाव छ । यस वर्ष बजारमा प्लास्टिकका फूलको मालाको व्यापार ह्वात्तै बढेको सूर्योदय फेन्सी स्टोर्सका व्यापारी सूर्यप्रसाद खनाल बताउनुहुन्छ । गत वर्षको तुलनामा यस वर्ष तिहारमा दोब्बर परिमाणमा मालाको बिक्री भइरहेको उहाँको भनाइ छ ।

तिहारको चहलपहल शुरु भएदेखि नै दैनिक ८० देखि १०० वटा प्लास्टिकको फूलको मालाको व्यापार हुने गरेको सनिम फेन्सी स्टोर्सका सनिम मियाँ बताउनुहुन्छ ।

बजारमा बिनाझन्झट तयारी अवस्थामा विभिन्नखालका माला उपलब्ध हुनु, व्यावसायिक तवरले पुष्पखेतीमा कृषककोे चासो नहुँदा पछिल्लो पाँच वर्षयता रामपुर क्षेत्रमा फूलको अभाव हुँदै आएको छ । यहाँ पुष्पखेतीका लागि उपयुक्त भू–बनोट छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र रामपुरमा अहिलेसम्म व्यावसायिकरुपमा पुष्पखेती शुरु हुन सकेको छैन ।
(रासस)

प्रकाशित मिति : २ कार्तिक २०७४ बिहिबार ००:००  ८ : ४७ बजे