८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सबै जातीको साझा बन्दै देउसीभैलो



दिपक अनुरागी, कपिलवस्तु, ६ कार्तिक ।
कपिलवस्तु नपा वडा नम्बर १२ का नुर महोम्मद देउसीभैलोमा रमाएका छन् । आफु मुस्लिम धर्मावलम्वीको भएपनि उनी देउसीभैलोमा रमाएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुका जिल्ला कार्यसमिती सदस्य समेत रहेका उनी प्रतिष्ठानबाटै देउसीभैलो खेलेका हुन । “तिहारमा देउसीभैलो खेल्दा निकै रमाइलो अनूभुति हुन्छ उनले भने, म रमाइलोका लागि भैलो खेलिरहेको छु ।” मुस्लिमको बकरइदमा पनि हिन्दु साथीले साथ दिनुहुन्छ उनि भन्छन, “दशै तिहार जस्ता चाडमा हामी साथ दिन्छौ यसले समाजमा समाजिक सद्भाव र भाइचारा बढाएको अनुभुति पाउँछौँ ।”
थारु जातीकी सरीता थारु पनि आफ्नै पोशाकमा देउसीभैलो खेल्न मस्त छिन् । स्थानीय सञ्चारकर्मी समेत रहेकी उनी जिल्लाका विभिन्न स्थानमा थारु समुदायबाटै भैलो खेलेकि हुन् । गाउँका थारु युवायुवतीहरु मिलेर देउसीभैलो खेलिरहेका छन् । उनि भन्छिन, “पहिला पहिला देउसीभैलो खेलेको हेथ्र्यौ, तर आजभोली हामी आफै देउसीभैलो खेल्ने गरेका छौँ ।” थारु समुदायमा देउसीभैलो खेल्ने परम्पराको शुरुवात विगत चार पाच बर्ष देखि हुन लागेको उनि बताउँछिन ।
तराई क्षेत्रमा बृद्धि भएको बसाईसराईको प्रभाव संस्कृतीमा पनि देखिन थालेको छ । नेपालीहरुका महान पर्व दशै, तिहार जस्ता सांस्कृतिक पर्वहरुमा संस्कृती हस्तान्तरणको प्रभाव बढेको हो । जनसंख्याको हिसाबले जिल्लामा सबैभन्दा बढी मुस्लिम समुदायको बसोबास रहेको छ भने थारु समुदाय दोस्रो स्थानमा छन् । तेस्रोमा मधेसी समुदाय छन् भने चौथोमा पहाडीया समुदाय छन् ।
यहाँका समुदायले एकआपसमा संस्कृती हस्तान्तरण गरिरहेका छन् । धर्म एउटै भए पनि आ–आफ्ना संस्कृति छन । दशै तिहार जस्ता पर्वहरु यहाँका पहाडीया र मधेसी समुदायले आ आफ्ना तरिकाबाट मनाउने गरेका छन् । धर्ममा पनि भिन्नता अनेकता छ त्यहि अनेकता माथि यहाँका समुदायले एकता खोजिरहेका छन् ।
थारु कल्याणकारीणीसभाका जिल्ला अध्यक्ष तथा थारु संस्कृतिविद जञ्जीर प्रसाद थारु पहाडीया संस्कृती थारु समुदायमा पनि भित्रिएको स्विकार गर्छन । तिहारमा चेलीबेटी जम्मा गरी रमाइलो गरेपनि टीका लगाउने चलन नभएको थारु बताउँछन् । तिहारमा गाई पूजा गर्ने, तोरन बाट्ने, घरलिपपोत गर्ने गरिन्थ्यो, उनले भने–“पछिल्लो समय थारु समुदायमा पनि तिहारको टीका लगाउने, भैलो खेल्ले गरिएको छ ।” पहाडीया समुदाय र थारु समुदाय विच विवाह हुन थालेपछि संकृती आदानप्रदान भएको उनी बताउँछन् ।
जिल्लामा १० स्थानीय तह रहेका छन् । सम्पूर्ण स्थानीय तहमा सबै जातजाती, भाषाभाषी भर्म संस्कृती मान्नेहरुको बसोबास छ । केहि बर्ष यता जिल्लाको उत्तरी क्षेत्रमा बसाई सरी आउनेहरु तीव्र रुपमा बढेको छन् । थारु समुदायको बाहुल्यता रहेको उक्त स्थानमा पहाडी जिल्लाबाट बसाई सराई गरि आए पछि थारु समुदायको भन्दा पहाडीया समुदायको बाक्लो उपस्थिती भएको हो ।
दशैमा यहाँका पहाडीया समुदायले सराय जात्रा निकाल्ने गरेका छन् । सोहि जात्रामा पनि विभिन्न धर्म संस्कृति मान्ने समुदायका मानिस सहभागीता जनाउँछन । तिहारमा देउसी भैलो खेलिन्छ, त्यसमा पनि सबै समुदायको संलग्नता रहेको छ ।
तिहारसँगै गाउँ तथा शहर जताततै देउसी भैलोको रौनक छ । यहाँका क्लब, समूह, र विद्यालय सम्मलाई देउसीभैलोले छोएको छ । बालक, युवा र वृद्धसम्म तिहारको देउसी भैलोमा झुमिरहेका छन् । विभिन्न उमेर समुह समुहमा छुट्टा छुट्टै भैलो खेलिरहेका छन् । युवा पिढीहरुले साउण्ड सिष्टमको प्रयोग गरि देउसीभैलो खेलेका छन् भने उमेरले पाकाहरु तिहारको अवसरमा नाचिने सोरठी, पैस्यारु, टप्पा लगायतका नाच नाचिरहेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७४ सोमबार ००:००  ४ : ०५ बजे