१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

निःशुल्क साइकल वितरण



तिलोत्तमा, रुपन्देही, ८ कात्तिक (रासस) ।
रुपन्देही तिलोत्तमा नगरपालिकास्थित तीनवटा विद्यालयका एक सय विद्यार्थीलाई निःशुल्क रुपमा साइकल वितरण गरिएको छ ।

तिलोत्तमा– ४ डिंगरनगरस्थित जनज्योति मावि, मणिग्रामस्थित शान्ति नमुना मावि र तिलोत्तमा– २ शंकरनगरस्थित दुर्गादत्त माविमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क रुपमा साइकल वितरण गरिएको हो ।

गरिब तथा विपन्न परिवारका जेहन्दार विद्यार्थी र टाढाटाढाबाट विद्यालय आउने बालबालिकाको हितलाई ध्यानमा राखेर साइकल वितरण गरिएको ख्वाङ्जु कोरियन बुद्धिज्म फाउण्डेशन नेपालका प्रवक्ता गोपाल आचार्यले बताउनुभयो ।

करिब रु ६ लाख मूल्य बराबरका ती साइकल वितरण गरिएको हो । साइकल उपहार पाएपछि जनज्योति मावि कक्षा– ९ का विद्यार्थी आकाश परियार र कक्षा ४ कि विद्यार्थी पूर्णिमा परियार लगायतले खुशी व्यक्त गरेका छन् ।

शान्ति नमुना मावि मणिग्राममा कक्षा १० मा अध्ययनरत् मनिषा चौधरी र कक्षा– ९ मा अध्ययनतत् वर्षा बस्यालले प्राप्त साइकलबाट पठनपाठनमा निकै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कोरियामा रहेको ख्वाङजु बुद्धिज्म फाउण्डेशनको सहयोगमा यस क्षेत्रका बालबालिकाको पठनपाठनमा सहयोग पुराउने उद्देश्यले साइकल वितरण, छात्रवृत्ति वितण तथा अन्य सामग्री प्रदान गरिँदै आएको आचार्यले बताउनुभयो ।

शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीे रुपन्देहीका विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई पठनपाठनमा सहयोग पुराउने उद्देश्यले यस प्रकारको कार्यक्रम गरिएको सो फाउण्डेशनका प्रमुख भिक्षु पार्क ईम साङले बताउनुभयो ।

भिक्षु फप ईल सिनमले सहयोगलाई सकारात्मक रुपमा लिएर यसको सदुपयोग गर्न आग्रह गर्नुभयो । सहयोगले विद्यार्थीमा उत्साह थपिएको र यसले पठनपाठनमा पनि सहयोग पुराउने जनज्योति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानकाजी श्रेष्ठले बताउनुभयो ।

शान्ति नमुना माविका प्रअ कुलप्रसाद लामिछाने पनि साइकल वितरणबाट विद्यार्थी थप उत्सुक भएको र यसले उनीहरुको सिकाइ उपलब्धि वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ८ कार्तिक २०७४ बुधबार ००:००  ११ : ३१ बजे