१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

बाँकेमा ३२७ मतदान केन्द्र



बाँके, कात्तिक ९ । बाँकेमा आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि ३२७ मतदान केन्द्र कायम गरिएको छ । मतदानस्थल भने साविकको १३६ नै कायम गरिएको क्षेत्रीय निर्वाचन कार्यालय बाँकेका क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले जानकारी दिनुभयो ।

स्थानीय तह चुनावमा बाँकेमा १३६ मतदान स्थलमा २९५ वटा मतदान केन्द्र रहेका थिए । स्थानीय तह निर्वाचन भन्दा यसपटक झण्डै ३० हजार मतदाता थप भएका कारण मतदान केन्द्र पनि थप भएका हुन् । निर्वाचन आयोगले एक हजार ६४ मतदाता रहेको क्षेत्रमा एउटा मतदान केन्द्र बनाउने मापदण्ड बनाए अनुसार बाँकेमा ३२७ मतदान केन्द्र तोकिएको हो ।

क्षेत्रीय निर्वाचन कार्यालय बाँकेका अनुसार २०७० सालको संविधानसभा चुनावको क्रममा रहेका मतदानस्थललाई नै स्थानीय तह र आगामी चुनावका लागि मतदान स्थल कायम गरिएको हो ।

बाँकेमा कुल मतदाताको संख्या २ लाख ७६ हजार ७१८ रहेको छ । क्षेत्र नम्बर १ मा ९८ हजार ३२०, मतदाता रहेका छन । क्षेत्र नम्बर १ को प्रदेश १ मा ४७ हजार १९ र प्रदेश २ मा ५१ हजार ३०१ मतदाता रहेका छन ।

क्षेत्र नम्बर २ मा ८२ हजार ९४९ मतदाता रहेका छन । क्षेत्र नम्बर १ को प्रदेश १ मा ४२ हजार २५ र प्रदेश २ मा ४० हजार ९२४ मतदाता रहेका छन ।
यसैगरी क्षेत्र नम्बर ३ मा ९५ हजार ४४९ मतदाता रहेका छन । क्षेत्र नम्बर ३ को प्रदेश १ मा ५१ हजार ११७ र प्रदेश २ मा ४४ हजार ३३२ मतदाता रहेका छन । स्थानीय तहको चुनावमा बाँकेका ८ वटा तहमा गरी दुईलाख ४६ हजार १०३ मतदाता रहेका थिए ।

चार वर्षअघि सम्पन्न भएको संविधानसभा चुनावमा बाँकेमा दुईलाख ९ हजार १६९ मतदाता रहेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७४ बिहिबार ००:००  ४ : ५७ बजे