१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

चुनावको तयारी तिव्र, एक सय २८ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो



काठमाडौं, असोज ९ ।
दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय बिहीबारदेखि ४५ जिल्लामा खुलेका छन् ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरु बिहीबारदेखि सञ्चालनमा आएका हुन् ।
दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाहरुमा प्रदेश नम्बर १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश नम्बर ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन् ।
प्रदेश नम्बर ४ का तनहुँ, कास्की, स्याङ्जा, पर्वत र नवलपरासी (बर्दघाटसुस्ता पूर्व), प्रदेश नम्बर ५ का पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलबस्तु, दाङ, प्युठान, बाँके, बर्दिया र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), प्रदेश नम्बर ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नम्बर ७ का कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम र डोटीमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् ।
दोस्रो चरणमा १ करोड २१ लाख ९८ हजार ८५२ मतदाताले मताधिकारको प्रयोग गर्ने छन् । उक्त निर्वाचनको लागि आगामी कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७४ बिहिबार ००:००  ११ : १३ बजे