१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

उम्मेदवार मन परेन ? आज हाल्न पाइन्छ उजुरी



१७ कात्तिक, काठमाडौं । आगामी मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनका लागि कतै खराब आचरणका व्यक्तिको उम्मेदवारी त परेको छैन ? यदि परेका उम्मेदवारीमाथि तपाईंलाई चित्त बुझेको छैन भने उम्मेदवारी खारेजीको माग गर्दै प्रमाणसहित उजुरी दर्ता गराउन सक्नु हुनेछ ।

आयोगले हिजो दर्ता भएको उम्मेदवारीविरुद्ध उजुरी दिनका लागि शुक्रबारको समय दिएको छ । आयोगका अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उजुरी दिन सकिने छ । आयोगले उजुरी हाल्ने थलो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयलाई तोकेको छ ।

प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन मंसिर २१ गते ४५ जिल्लामा हुँदैछ । निर्वाचन आयोगले बिहीबार यी जिल्लाका निर्वाचन क्षेत्रको उम्मेदवार मनोनयन दर्ता गराएको थियो । निर्वाचन आयोगका अनुसार १२८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि १७४२ उम्मेदवारी परेको छ भने प्रदेशसभातर्फको २५६ निर्वाचन क्षेत्रका लागि २९६६ जना मैदानमा खडा भएका छन् । मनोनयन दर्ता गराएका उम्मेदवारको नाम बिहीबार नै सार्वजनिक गरेको आयोगले त्यसको भोलिपल्ट उम्मेदवारविरुद्ध उजुरी संकलन गर्न लागेको हो ।

उम्मेदवारविरुद्ध उजुरी दिने समय शुक्रबारका लागि दिएको आयोगले शनिबार मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्नेछ । १८ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेका लागि १९ गतेको समय दिएको छ । आयोगका अनुसार, उम्मेदवारलाई कात्तिक १९ गते नै चुनाव चिह्न प्रदान गरिने छ ।

यसअघि पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको उम्मेदवार मनोनयन भइसकेको छ । त्यहाँ मंसिर १० गते निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७४ शुक्रबार ००:००  ४ : ०७ बजे