१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

प्रचण्डले सुरु गरे घरदैलो अभियान, ओलीे सँगै १४ शहरमा सम्बोधन गर्ने !



 

चितवन, कात्तिक २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं ३ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले बिहीबारदेखि घरदैलो अभियान सुरु गर्नु भएको छ ।
भरतपुर महानगरपालिका(१३ को उज्वलनगरबाट उहाँले घरदैलो अभियान सुरु गर्नु भएको हो । उहाँले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्तरुपमा देशका १४ प्रमुख शहरमा वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम पनि तय भएको छ । उहाँहरुले कात्तिक २९ देखि मंसिर ९ गतेसम्म विभिन्न १४ शहरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको हो । कात्तिक २९ गते गोरखा, कात्तिक ३० गते बागलुङ र स्याङ्जा, मंसिर २ गते दमक, ३ गते काँकडभित्ता र विराटनगर, मंसिर ५ गते चितवन, मंसिर ६ गते बुटवल र दाङ, मंसिर ७ गते सुर्खेत र दैलेख, मंसिर ८ गते कैलाली र कञ्चनपुर तथा मंसिर ९ गते पोखरामा सम्बोधन गर्नुहुनेछ ।
बिहीबार घरदैलोका क्रममा स्थानीय बासिन्दा ज्येष्ठ नागरिक दिवा परियारले नजिकैको वनबाट वन्यजन्तु आएर दुःख दिने गरेको गुनासो गर्नुभयो । अर्की ज्येष्ठ नागरिक मुनि न्यौपानेले नाम मात्र सुनेको प्रचण्डलाई भेट्न पाउँदा खुशी लागेको बताउनुभयो । ज्येष्ठ नागरिक बिबा परियारले अब सधैँ चितवनमा नै बसेर जिल्लाको विकास गरिदिन प्रचण्डलाई आग्रह गर्नुभयो । घर दैलोका क्रममा अन्यले पनि जंगली जनावर र खोलाको त्रास हटाई दिन उहाँलाई आग्रह गरेका थिए । प्रचण्डले आधुनिक मेस र जाली निर्माण गर्ने तथा तटबन्ध गरेर नदि कटान रोक्ने आश्वासन दिनुभयो । कात्तिक २७ गतेसम्म चितवन रहनुहुने अध्यक्ष दाहालले नियमित घरदैलो अभियान र सभा, सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७४ शुक्रबार ००:००  ४ : १५ बजे