७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

शेर बहादुर देउवा मध्यपश्चिम जाँदै, केपि ओली काठमाडौं फर्किँदै



काठमाडौं, २८ कात्तिक ।
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबारदेखि मध्यपश्चिम र सुदूर पश्चिममा जाँदै हुनुहुन्छ । पूर्वी नेपालमा चुनावी प्रचारप्रसार सकेर आइतबार काठमाडौं फर्किएका देउवा मंगलबार पश्चिम जान लाग्नुभएको हो ।
मंगलबार नेपालगञ्ज पुगेर देउवाले त्यहाँको सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखसँग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्नुहुने नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री देउवाले नेपालगञ्जमा अन्य दलका प्रतिनिधि, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सहित स्थानीय नेता र नेपाली कांग्रेसका त्यो क्षेत्रका उम्मेदवार तथा कार्यकर्तासंग पनि भेटघाट गर्नुहुनेछ । नेपालगञ्जपछि प्रधानमन्त्री देउवा बुधबार धनगढी र बिहीबार गृह जिल्ला डडेलधुरा पुग्ने कार्यक्रम छ ।
त्यसपछि मंसिर १ गते दार्चुला र बैतडी, २ गते बझाङ्ग र बाजुरा त्यसपछि रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभालाई संबोधन गर्ने तय भएको कांग्रेसले जनाएको छ ।
यस्तै गएको शुक्रबार गृह जिल्ला झापा गएका एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार काठमाडौं फर्कदै हुनुहुन्छ । पाँच दिनसम्म झापाका विभिन्न सभामा सम्बोधन र चुनावी प्रचार प्रसारमा रहेका ओली बुधबारदेखि बाम गठबन्धनले विभिन्न जिल्लामा गर्न लागेको चुनावी सभामा सहभागी हुन काठमाडौं फर्किन लाग्नुभएको हो ।
गठबन्धनले बुधबार गोरखाबाट सुरु गर्ने सभा मंसिर ९ गते पोखरामा पुगेर सकिनेछ । सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधिसभा सदस्यको लागि चितवनमा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका दाहाल केहीदिनदेखि चुनावी घरदैलो अभियानमा चितवनमा हुनुहुन्छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७४ मंगलबार ००:००  ४ : ०५ बजे