२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

चुनावी रौनक : चन्द्रौटामा एकै समयमा तीन दलको आमसभा



सीताराम चौधरी, चन्द्रौटा, ३० कार्तिक ।
मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको माहोल यतिबेला कपिलवस्तुमा पनि तातेको छ । दलहरु आ–आफ्ना चुनावी एजेण्डा लिएर मतदाता फकाउन दौडधुपमा लागेका छन् । प्रदेश नम्बर ५ अन्तर्गत कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का बामगठबन्धन, काँग्रेस तथा मधेशबादी दलहरु चुनावी परिणाम आफ्नो पक्षमा पार्न रणनीति बनाउन व्यस्त छन् । जिल्लाको क्षेत्र नं. ३ मा मात्र एक दर्जन दलहरु चुनावी दौडमा छन् ।
चुनावकै रौनकतासँगै तीन ठूला प्रतिष्पर्धी दलहरुले बुधबारे साप्ताहिक हाटबजारको मौका छोपी जिल्लाको चन्द्रौटामा आमसभा सम्पन्न गरेका छन् । संयुक्त बामगठबन्धन, नेपाली कांग्रेस र संघीय समाजबादी फोरम नेपालले चन्द्रौटा बजारक्षेत्रमा छुट्टाछुट्टै आमसभाको आयोजना गरेका हुन् । तीनवटै दलले आ–आफ्ना एजेण्डा सार्वजनिक गर्दै आफूलाई जिताउन मतदातासँग आग्रह गरेका थिए । संयुक्त बामगठबन्धनका प्रतिनिधिसभा उम्मेदवार ईश्वरदयाल मिश्रले समृद्ध कपिलवस्तुको विकासका लागि संयुक्त बामगठबन्धनले जित्नुपर्ने बताएका थिए । शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाको स्थानीय तहको नतिजाअनुसार बामगठबन्धन अन्य दलभन्दा अगाडि रहेकाले पनि बामगठबन्धनको जीत सुनिश्चित रहेको उनले दाबी गरे । यसैगरी प्रदेशसभा १ बाट सूर्य चिन्ह लिएर चुनाव प्रचारप्रसारमा जुटेका युवा नेता अर्जुन के.सी.ले बामगठबन्धनको पक्षमा बहुमत रहेकाले आफ्नो जीत पक्का रहेको बताएका छन् । भने बामगठबन्धनबाट गोलो घेराभित्र हसिया हथौडा लिएर प्रदेशसभा २ को सदस्यमा टिकट पाएका जाबेद आलम खाँले आफूलाई यसक्षेत्रका जनताको समस्या समाधान गर्न सक्ने क्षमता र योजना आफूसँग भएको दाबी गर्दै बामगठबन्धनलाई जिताउन आग्रह गरेका छन् ।
यता नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार अभिषेक प्रताप शाहले वाम गठबन्धन देशको लागि घातक रहेको बताएका छन् । चीनमा कम्यूनिष्टहरुले गर्दा स्वतन्त्रपूर्वक सरकार चुन्न पाउने अधिकार नै नभएकोले अव बामले जिते नेपाल पनि त्यही अवस्थामा पुग्ने धारणा नेपाली कांग्रेसलाई जिताउन आग्रह गरे । नेपाली कांग्रेसको जित सुनिश्चि भएको देखेपछि बाम लगाएत अन्य पार्टी आत्तिएको बताए । यस्तै प्रदेशसभा १बाट उम्मेदवार दिएका युवा नेता अजय थापाले पनि समाजमा आफ्नो पकड राम्रो रहेकाले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन् । साथै नेपाली कांग्रेसबाट प्रदेशसभा २ का उम्मेदवार बीरेन्द्र कनौडियाले पनि आफ्नो जनमत रहेकाले यसपाली आफूलाई कुनै शक्तिले पनि हराउन नसक्ने बताएका थिए ।
यसैगरी चन्द्रौटामा आयोजित आफ्नो पार्टीको आमसभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा उम्मेदवार मंगलप्रसाद गुप्ताले मधेशको अधिकारको नाममा आन्दोलन गरी जनता उक्साएर पछिल्लो समय जनतालाई धोका दिएको बताए । नेपालमा रहेका मधेशीलाई विहारी हुन् भन्ने पार्टीमा गएर मधेशी जनतासँग कसरी भोट माग्छन् भनेर प्रश्न गरे । गुप्ताले देश समृद्ध र क्षेत्र विकासको लागि संघीय समाजवादी फोरमलाई विजयी गराउन आग्रह गरे । यसैगरी प्रदेशसभा २ का उम्मेदवार कृष्णकुमार चौधरीले आफू सधैं जनताको पक्षमा रहेकाले यसपाली जनताले आफूलाई जिताउने दाबी गर्दै भोटको लागि आग्रह गरे ।
कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ मा यिनै तीन दलको कडा प्रतिष्पर्धा रहेको देखिन्छ । कांग्रेसका पूर्व सांसद समेत रहेका नेपाली कांग्रेसका अभिषेकप्रताप साह, पूर्व राज्यमन्त्री समेत रहेको एमालेका ईश्वरदयाल मिश्र र संघीय समाजवादी फोरमका मङ्गलप्रसाद गुप्ताबीच कडा टक्कर हुने देखिन्छ । यी दलबाहेक क्षेत्र नं. ३ मा नयां शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, बहुजन शक्ति पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल लगायत दर्जन बढी दल तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७४ बिहिबार ००:००  ४ : २४ बजे