८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

घनश्याम भुसाल उठेको निर्वाचन क्षेत्रको घोषणा पत्र सार्वजनिक



बुटवल, ३० कार्तिक ।
भैरहवा र लुम्बिनीलाई जोडेर अन्र्तराष्ट्रिय शहर निर्माण गर्ने योजना सहित बाम गठबन्धनले रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । बाम गठबन्धनका तर्फका उम्मेदवार एमाले उपमहासचिव घनश्याम भुसालले भैरहवा क्षेत्र अन्र्तराष्ट्रिय नाका भएको भन्दै त्यसको समुचित विकास गरिने बताए । नेपालको राजनीतिक इतिहासमा ७० वर्षपछि स्थायी सरकार बन्न लागेको दाबि गर्दै उनले त्यो सरकारले लुम्बिनी क्षेत्रको विकासमा आमुल परितर्वतन गर्ने बताए ।
पश्चिम नेपालको गेटवे तथा भारत र चीनबीचको मुख्य ब्यापार नाकाका रुपमा सुनौली स्थापित हुने उनले बताए । बुद्ध जन्मस्थल लुम्बिनी, अन्र्तराष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र सेज, स्मार्ट औद्योगिक क्षेत्र निर्माणको काम बाम गठबन्धन नेतृत्वको सरकारले गर्ने भुसालले बताए ।

आफूले ०५३ सालमा संसद हुदा अन्र्तराष्ट्रिय विमानस्थल र लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि अभियान नै चलाएको उनले बताए । विकास निर्माणका योजना सहित बाम गठबन्धनले सैद्धान्तिक पक्षहरुलाई समेत प्रतिवद्धता पत्रमा समावेश गरेको छ ।
नेपालका लागि अव स्थिर सरकार आवश्यक रहेको भन्दै उम्मेदवार भुसालले बाम गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गरे । आर्थिक लोभ देखाएर मतदाता फकाउने समय चरण सकिएको भन्दै उनले देश निर्माणका लागि ठूला सपना देख्नेहरुलाई बिबेकपूर्ण तरिकाले रोज्न उनको आग्रह थियो ।

सो क्षेत्रमा प्रदेश सभातर्फ माओवादीका विश्वास बराल र एमालेका तुलसी चौधरी चुनावी मैदानमा छन् । रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि भुसाल र राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहोराबीच प्रतिष्पर्धा हुदैछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७४ बिहिबार ००:००  ४ : ३२ बजे