१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

हृदयघातबाट प्रकाश दाहालको निधन , को थिए प्रकाश दाहाल ?



काठमाडौं, मंसिर ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको निधन भएको छ । प्रकाशको निधन भएको पुष्टि नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा। जेपी जयसवालले गर्नुभएको हो ।
अहिले नर्भिक अस्पताल थापाथलीमा नेता, कार्यकर्ता र शुभेच्छुकको घुईंचो लागेको छ । झापाको बिर्तामोडमा बसेका प्रचण्ड हेलिकोप्टर चढेर भर्खरै काठमाडौं आइपुग्नुभएको छ । उहाँ नर्भिक अस्पताल पुग्दै हुनुहुन्छ । प्रचण्ड हेलिकोप्टरमा चढ्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओली दमकबाट बिर्तामोड पुगेर उहाँसँग भेट गर्नुभएको थियो ।
प्रचण्ड पुगेपछि अस्पतालले प्रकाशको निधनबारे आधिकारिक जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।अचेत भएपछि अस्पताल पुर्याइएका प्रकाशको अस्पताल पुग्न्अघि नै निधन भएको पनि डाक्टर जयसवालले उज्यालोलाई जानकारी दिनुभयो ।

को थिए प्रकाश दाहाल ?
प्रकाशको जन्म २०३८ असार १७ गते चितवनमा भएको हो । प्रकाश पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका एकमात्र छोरा हुनुहुन्थ्यो । प्रकाश बुवाआमासँगै माओवादी सशस्त्र संघर्षका बेला भूमिगत हुनुभएको थियो ।
जनयुद्धको बेलामा बुवा प्रचण्डलाई दिएको साथ प्रकाशले अहिले पनि कायमै राख्नुभएको थियो । प्रचण्डका स्वकीय सचिवको रुपमा उहाँले काम गरिरहनुभएको थियो ।
सामाजिक सञ्जालमार्फत सूचना प्रवाहमा पनि प्रकाशलाई अब्बल मानिन्थ्यो । दाहालले समाजसेवीलाई दिइने प्रवल जनसेवाश्री पदक पाउनुभएको छ ।
प्रकाशलाई एक कुशल व्यवस्थापकको रुपमा लिइन्छ । उहाँलाई आफ्नो भन्दा पनि बुवा प्रचण्ड, पार्टी र राष्ट्रिय हित एवं स्वार्थका बारेमा बढी सोच्ने व्यक्तिका रुपमा उहाँ निकट रहेकाहरुले बताउने गरेका छन् । प्रचण्डका दुई छोरी र एक छोरामध्ये जेठी छोरी ज्ञानुको क्यान्सरका कारण यसअघि नै निधन भएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७४ आइतबार ००:००  ५ : ५५ बजे