१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

पूर्व प्रधानमन्त्री सरिफ पत्नीको उपचार गराउन अनुमति माग्दै



पाकिस्तान, ८ मंसिर ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले बेलायतको अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी पत्नीको उपचारका लागि बेलायत जान पाउने अनुमति विशेष अदालतसँग मागेका छन् । उनले पत्नीको उपचारमा जानका लागि आफूमाथिको भ्रष्टाचार आरोपको सुनुवाइमा अनुपस्थित रहन छुट दिन अनुमति मागेका हुन् ।
सरिफकी पत्नी कुलसुमलाई क्यान्सर देखिएपछि केही समयदेखि बेलायतमा उपचार गराइरहेकी छन् । सरिफका वकिलले बुधबार राजधानी इस्लामाबादस्थित विशेष अदालतमा भ्रष्टाचार मुद्दाको सुनुवाइमा पूर्वप्रधानमन्त्री सरिफलाई बेलायत जाने अनुमतिका लागि गरेको अनुरोध न्यायाधीश मोहम्मद बसिरले सुनेको तर यसबारे कुनै निर्णय नदिएको बताइएको छ । सरिफले विदेश जाने अनुमति पाउन गरेको आग्रहलाई नोभेम्बर २८ सम्मका लागि अदालतले स्थगित गरेको सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तर अमेरिकी राष्ट्र पनामाको एउटा कानूनी फर्ममार्फत चुहिएको सूचनाका आधारमा सरिफ, उनकी छोरी र ज्वाइँलाई पदीय मर्यादाविपरित विदेशमा अवैध लगानी गरेको भ्रष्टाचार आरोप लागेको थियो । भ्रष्टाचार आरोपपछि पाकिस्तानको अदालतले प्रधानमन्त्रीका लागि अयोग्य ठहर गरेपछि सरिफले पद छाडेका थिए । एजेन्सी

प्रकाशित मिति : ८ मंसिर २०७४ शुक्रबार ००:००  २ : ४९ बजे