२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

रुख चिन्हमा भोट नहाले पानी समेत खान नदिने वडाध्यक्षको धम्की



धादिङ, ९ मंसिर ।
धादिङको ज्वालामुखी गाउँपालिका –२, का वडाध्यक्ष रणबहादुर शाहीले काफलपानीका दलित परिवारलाई रुख चिन्हमा भोट नहाले पानी समेत खान नदिने धम्की दिएका छन् ।
मौन अवधिमा दलित बस्तीमा गएर मंसिर ९ गते हुने कांग्रेस उम्मेदवारलाई भोट हाल्न दबाब दिएका हुन् । ५७ वर्षका पदम बहादुर बिक, ६४ वर्षका टेकमान विक, ७२ वर्षका जगतमान बिकलाई धम्की दिएको पदमबहादुर बिकले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । दियम खोलाको पानी आफ्नो भएकोले खाने पानी रोक्ने र आरनमा फलाम चोप्नसमेत पानी नदिने धम्की दिएको उहाँले बताउनुभयो ।
स्थानीय तहको चुनावमा कांग्रेसबाट वडाध्यक्षमा निर्वा्चित शाहीले ज्वालामुखी गाउँपालिका –२, काफलपानीमा एक दलित वस्तीमा चुरोट खान दिँदै धम्की दिएको आरोप पदमबहादुर बिकले लगाउनुभयो ।
शुक्रबार साँझ झण्डै ७ बजे काफलपानीका पदमबहादुर बिक घरसल्लाह गरिरहँदा वडाध्यक्ष शाही एक सहयोगीसहित उनको घरमा प्रवेश गरे । कांग्रेस धादिङका पूर्व गाउँ सभापतिसमेत रहेका शाहीले औपचारिक कुराकानी सुरु नगर्दै पदमबहादुरकी श्रीमती दिलमायाको हातमा चुरोट राखिदिए र आफू आउनुको कारण सुनाउँदै भोट मागेका थिए । वडाध्यक्ष शाहीले ‘अहिले वडामा सबै काम गर्ने मै हुँ । राहत दिने बेलामा सबै काम मैले गरेको छु’ भनेको पदमबहादुर बिकले बताउनुभयो ।
उज्यालो अनलाइन

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  ४ : ३४ बजे