१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

पहिलो चरणका ३२ जिल्लामा आज निर्वाचन हुँदै



काठमाडौँ, १० मंसिर (रासस) ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणको निर्वाचन आज ३२ जिल्लामा हुदैछ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रका लागि ३२ लाख २८ हजार ८७९ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।
यसका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गृहसचिव मोहनकृष्ण सापकोटाले निर्वाचनका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको भन्दै ढुक्क भएर मतदान गर्न सबैमा आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा मजबुत सुरक्षा व्यवस्था प्रदान गरी शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा मन्त्रालय र सुरक्षा निकाय सजग र संवेदनशील रहँदै आएको छ ।”
उहाँले निर्वाचनपूर्वको सुरक्षा तयारी पूरा गर्दै अब निर्वाचनको दिनको सुरक्षा व्यवस्थामा मन्त्रालय लागेको जानकारी दिनुभयो ।

निर्वाचनमा सुरक्षा निकायको हवाई र पैदल गस्ती हुने गृहसचिव सापकोटाले जानकारी दिनुभयो । यस्तै निर्वाचन हुने जिल्लाका छ स्थानमा सुरक्षा सहयोगका लागि हेलिकप्टरसहित सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ ।
घटना र दुर्घटना भएमा प्रतिकार जनाउने तथा निरोधात्मक सुरक्षा सतर्कता र सावधानीका लागि स्थानीय प्रशासनलाई निर्देशन दिइसकिएको सचिव सापकोटाले जानकारी दिनुभयो ।
निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ । जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ । राष्ट्रिय अनुसन्धान विभागलाई भने सूचना संकलनमा परिचालन गरिनेछ ।

जिल्लाका सबै मतदान स्थल एवं बस्ती सुरक्षा निकायलाई दोहोरो नपर्ने गरी क्षेत्र निर्धारण गरिएको र सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचन विरोधी छिटफुट घटना घटाइए पनि ती कार्य सुरक्षा निकायको पूर्ण नियन्त्रणमा रहेको गृहले जनाएको छ । सो क्रममा अवैध हातहतियार र विष्फोटक पदार्थ बरामद गरिनुका साथै घटनामा संलग्न ४०० भन्दाबढी व्यक्तिलाई पक्राउ गरी कानूनी कारबाही भइरहेको गृहले जनाएको छ । निर्वाचन हुने जिल्लामा सो दिन सार्वजनिक निजी सवारीसाधन चलाउन नपाए पनि अत्यावश्यक सेवाका सवारी, पास भएका सवारी मात्र चलाउन पाइने गृहमन्त्रालयले जनाएको छ ।
कुनै घटना भइहाले १० देखि ३० मिनेटभित्र जुनसकै स्थानमा सुरक्षाकर्मी पुग्न सक्नेगरी आवश्यक व्यवस्था मिलाइएको गृहले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७४ आइतबार ००:००  १२ : ३८ बजे