१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

त्रिशूलीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो, घाइतेको उपचार जारी



धादिङ, १३ मंसिर ।
पृथ्वी राजमार्ग अन्तरगत चितवनको फिस्लिङबाट त्रिशूली नदीमा एक यात्रीबहाक बस खस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ । ६ जनाको शव दुर्घटनालगत्तै निकालिएको थियो भने एकजनालाई गोताखोरहरुले मृत अवस्थामा गाडीभित्रै फेलापरेका थिए । अर्का एकजनाको भने उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरी जनाएको छ ।

मृतकहरु मध्ये रुपन्देही, देवदहका दीपक पाण्डे, अर्घाखाँची मालारानी–८ का नुदराज अधिकारी, अर्घाखाचीको सन्धीखर्क–४ का लक्ष्मी पौडेल, दैलेखका अम्बरबहादुर शाही, नवलपरासी, बर्दघाटका कृष्ण ढकाल, कपिलवस्तु, वाग्राका ओमबहादुर सिंजापति र कपिलवस्तुकै विष्णुबहादुर सुनारको सनाखत भएको छ ।

एकजनाको सनाखत हुन सकेको छैन । मृतकहरुको शव उपक्षेत्रीय अस्पताल भरतपुरमा राखिएको छ । दुर्घटनाग्रस्त बसबाट २३ जना यात्रीलाई घाइते अवस्थामा उद्धार गरिएको जनाइएको छ ।

घाइतेमध्ये केहीको चितवन मेडिकल कलेजमा र केहीको काठमाडौंमा उपचार भइरहेको छ ।

बुधबार काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको लु२ख २९१ नम्बरको बस मुग्लिन नपुग्दै फिस्लिङ भन्ने स्थानबाट त्रिशूली नदीमा खसेको हो ।

‘ओभरटेक’ गरेर जानेक्रममा विपरीत दिशाबाट आएको ना६ख ४९७२ नम्बरको ट्रकसँग ठोक्किँदा बस नदीमा खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले दुर्घटनाग्रस्त बस पानीको सतहबाट करिब ३० मिटर तल फेलापारेको छ । क्रेनले तानेर बस निकाल्ने तयारी भइरहेको बताइएको छ ।

काठमाडौंबाट २६ जना यात्री लिएर हिँडेको बसमा बीच बाटोबाट कति यात्री चढेका थिए भन्ने पनि खुलेको छैन ।

दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा उद्धारमा जुटेका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७४ बुधबार ००:००  ५ : १० बजे