६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

भारत र श्रीलङ्कामा आएको शक्तिशाली आँधीबाट सोह्रको मृत्यु, १०० जना बेपत्ता



नयाँ दिल्ली, १४ मङसिर ।
भारत र श्रीलङ्कामा बिहीबार रातिबाट शुक्रबार बिहानसम्म आएको शक्तिशाली आँधीको कारण कम्तीमा पनि १६ व्यक्तिको मृत्यु भएको समाचार छ ।
सो आँधीबाट अन्य १०० जना व्यक्ति वेपत्ता हुनुका साथै आँधीका कारण यी दुबै देशमा सयौँ रुख ढल्नुको साथै विद्युतीय लाइनहरु अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन् ।
आँधीले सडक छेउका घरहरु भत्काएको वा उडाएको बताइएको छ । आँधी प्रभावित क्षेत्रमा लाखौँ व्यक्तिलाई सो क्षेत्र खतरायुक्त भएको चेतावनी दिइएको छ । भारतको दक्षिणी भू–भाग तामिल नाडू र केरला प्रान्त बढी प्रभावित भएको छ भने श्रीलङ्काको दक्षिणी र मध्य प्रान्तहरुमा क्षति पुगेको छ । ती क्षेत्रका सवै बिद्यालय दुई दिनयता बन्द रहेका छन् । सडक, रेलमार्गसमेत बन्द भएको प्रकोप व्यवस्थापन केन्द्रले जानकारी दिएको छ ।
प्रकोप नियन्त्रण अधिकारका अनुसार आँधीको कारण भारतमा नौ र श्रीलङ्कामा सात व्यक्तिको मृत्यु भएको छ । प्रायः व्यक्तिहरु रुख ढलेको र ती ढलेको रुखहरुले किचेर मृत्यु भएको बताइएको छ ।
यस आँधीको कारण तटीय क्षेत्रको समुद्रमा माछा मार्ने डुङ्गाहरु समेत सबै उडाएको भारतका रक्षामन्त्री निर्मला सिथारमानले बताउनु भएको छ । हराउने अधिकांश नागरिक माछामार्न समुद्रमा गएका थिए । उनीहरु धेरैजसो व्यवसायिक मछुवा रहेका बताइएको छ ।
शुक्रबार बिहानीपख यसको प्रभाव धरै देखिएको थियो । बिहीबार रातिदेखि नै व्यापक हावाहुरी आएको र पछि भीषण बर्षाले गर्दा यति ठूलो संख्यामा नागरिक हताहत र बेपत्ता भएका प्राप्त समाचारमा जनाइएको छ ।
(रासस÷एएफपी)

प्रकाशित मिति : १५ मंसिर २०७४ शुक्रबार ००:००  १० : ५१ बजे