१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस आज मनाईंदै



काठमाडौं, मंसिर १६ । अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस शनिबार मनाईंदैछ । सन् १९४९ देखि संयुक्त राष्ट्रसंघको पहलमा डिसेम्बर २ तारिखमा यो दिवस मनाउन थालिएको हो । विश्वमा झण्डै २१ करोड महिला, पुरुष र बालबालिका दासताको शिकार भएको तथ्यांक छ ।
पछिल्लो समय नेपालमा आन्तरिक तथा बाह्य बेचबिखन जस्ता आधुनिक दासत्व पनि बढ्दै गएको यस क्षेत्रमा काम गर्नेहरुले बताएका छन् । यस्तै पुराना तरिकाका दास तथा दासताका प्रथा घटे पनि मानव तस्कर, अङ्ग तस्कर र जबरजस्ती यौन व्यवसायमा लगाइने गरेकोे पाइएको छ । समाजमा विशेषगरी महिला र बालबालिकामाथि बढी श्रम शोषण हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।
अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनका अनुसार संसारभर ४१ लाख श्रमिकलाई जबरजस्ती जोखिमपूर्ण कामगर्न बिनाकुनै परिश्रममा लगाइन्छ र यस्ता श्रमिकमा महिला र बालबालिकाको संख्या धेरै छ ।
नेपालमा विसं १९८३ मा दास प्रथा उन्मुलनको घोषणा भएको थियो । तर पनि विभिन्न स्वरुपमा दासताप्रथा अझै कायमै छ । यस्तै वैदेशिक रोजगारीमा गएका नेपालीमाथि शारीरिक तथा मानसिक दमन हुने गरेको उनीहरुको गुनासो छ ।

प्रकाशित मिति : १६ मंसिर २०७४ शनिबार ००:००  ४ : ३२ बजे