१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दाङ २ मा महरालाई खनालको टक्कर



दाङ, मंसिर १७ । दाङ क्षेत्र नं २ मा वाम गठबन्धनका कृष्णबहादुर महरालाई कांग्रेस उम्मेदवार राजु खनालले टक्कर दिनुभएको छ । यसअघि दुवै नेताले यहीँबाट एक एकपटक चुनाव जितेका हुन् । यसपतटक पनि आफूले नै चुनाव जित्ने दुवै नेताको दाबी छ ।
२०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा महराले र २०७० सालमा भएको दोस्रो संविधानसभा सभा चुनावमा खनालले निकटतम
प्रतिक्ष्पर्धीभन्दा भारी मत अन्तरमा चुनाव जितेकाले पनि दुवैमा चुनाव सजिलै जित्ने विश्वास छ । २०६४ सालमा चुनाव जितेको माओवादीले यहाँ २०७० सालमा भारी मतले चुनाव हारेको थियो भने असारमा भएको स्थानीय तह चुनावमा धेरै तह एमालेले जितेको छ । यसले पनि के देखाउछँ भने मतदाताहरु स्थिर छैनन् । यसपटकको चुनावमा उनीहरुले कसलाई जिताउने हुन अहिले आँकलन गर्न गाह्रै छ ।
पहिलो संविधानसभा दाङबाट उठेका महरा दोस्रो संविधानसभामा रोल्पाबाट चुनाव लड्नु भएको थियो । यसले दाङका केही नागरिक उहाँसँग असन्तुष्ट छन् । तर सरकारमा रहेका बेला दाङको विकासका लागि महराले उल्लेखनीय भूमिका खेलेका कारण महराको जितलाई सहज मान्नेहरु पनि छन । अनि दाङमा पछिल्लोपटक भएको विकास निर्माण आफूको पहलमा काँग्रेस नेतृत्वको सरकारले गरेकाले आफूको जित सजह छ भन्ने दाबी कांग्रेसको पनि छ ।
कांग्रेसका उम्मेदवार राजु खनाल दोस्रो संविधानसभा भारी मतले जितेको, स्थानीय घोराहीको भरतपुरबासी भएको, विद्यार्थीकालदेखि नै स्थानीय राजनीति गरेको, मतदाताले आफ्नो सहज पहुँच पू¥याउन सक्ने भएकाले खनालको जित सहजै छ भन्ने मतदाताको संख्या पनि कम छैन । तर पछिल्लोपटक सभासद हुँदा दाङमा सोचेजति विकासका कार्यक्रम ल्याउन नसकेको, ल्याएका योजना पनि अपूरो रहेको र तत्लोतहका कार्यकर्तासम्म नपुगेको आरोप खनाललाई छ ।
शालिन स्वभाव, परिपक्व नेताका रुपमा रहेका महरालाई चुनाव जिताएर पठाउँदा भोलि सरकारको नेतृत्व नै गर्न सक्ने र विकास निर्माणमा उल्लेख्य भूमिका खेल्ने हुँदा महरालाई जिताउन लागि पर्नुपर्छ भन्नेहरु पनि धेरै छन । जसले पनि यो क्षेत्रमा राम्रै टक्कर हुने देखिन्छ ।

प्रकाशित मिति : १७ मंसिर २०७४ आइतबार ००:००  ६ : ०१ बजे