१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पैसाले भोट किन्न थालेका कांग्रेस कार्यकर्ता साढे एक लाख सहित पक्राउ



पाल्पा, २० मंसिर ।

तिनाउ गाउँपालिका वडा नं २ डोल गाउँमा मतदातालाई प्रभावित पार्न पैसा बाड्न लागेका नेपाली काँग्रेसका कार्यकर्तालाई पक्राउ गरी स्थानीय जनताले प्रहरीलाई बुझाएका छन् ।
मौन अवधिमा तिनाउ गाउँपालिकाको दोभानबाट भोट माग्दै पैसा बाँड्न लागेका काँग्रेस कार्यकर्ताबाट १ लाख ५६ हजार नगद स्थानीय मतदाताले बरामद गरेका हुन् । पाल्पा क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार हरिप्रसाद नेपाललाई भोट माग्दै पैसा दिएर मत किन्न खोजेकाले आफूहरुले कब्जामा लिई प्रहरीलाई बुझाएको स्थानीय बासिन्दा रामबहादुर थापाले जानकारी दिनुभयो ।
मतदातालाई प्रभावित पार्ने आचारसंहिता विपरितको कार्य गर्ने केदार घिमिरे र लक्ष्मण घिमिरेलाई स्थानीय जनताले प्रहरीलाई बुझाएका छन् । काँग्रेस कार्यकताबाट नगद १ लाख ५६ हजार रुपैँया प्रहरीलाई बुझाएको तिनाउ २ का वडाध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो । घिमिरे काँग्रेस उम्मेदवार हरिप्रसाद नेपालका ज्वाईं नाताका हुन् ।
मंसिर १८ गते दोभानको खुलखुलेमा माइन बम विस्फोट भएको दिन पनि तिनीहरुलाई शंकास्पद मानि पक्राउ गरेको थियो । नेपाली काँग्रेसले आफ्ना कार्यकर्ता भनेपछि दुबैलाई प्रहरीले छोडेको हो ।
दोभान बुढासडकका ५८ वर्षिय अग्नीधर अर्याललाई गाउँको मत हाम्लाई दिनुस, पैसा लिनुस भनेर भन्दा अर्यालले अस्वीकार गरेको र मत किन्न खोज्ने भनेर झोंकिदा मतदातासँग झडप हुन पुगेको हो । स्थानीय मतदाताले केदार घिमिरेसहित २ जनालाई प्रहरीको जिम्मा लगाएका छन् । दुबैलाई दोभान प्रहरी चौकीमा राखिएको छ ।
पाल्पा जिल्लाका विभिन्न स्थानमा भोजभतेर गर्ने, रक्सी र मासु खुवाउने, मतदातालाई धम्काउने जस्ता क्रियाकलाप हुदैं आएका छन् । काँग्रेस आफ्नो पार्टीको नेतृत्वमा सरकार छ भन्दै निर्वाचन आचारसंहिता उल्लंघन गर्न थालेपछि मतदाता टोलटोलमा गस्ती बढाएका छन् । साभार धरातल सम्वाददाता

प्रकाशित मिति : २० मंसिर २०७४ बुधबार ००:००  २ : १६ बजे