१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नवलपरासीमा ७० प्रतिशत मत खस्यो



वृजराज कुशवाहा, नवलपरासी, २१ मंसिर ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिममा करीब ७० प्रतिशत मतदान भएको छ । निर्वाचन कार्यालयले गरेको प्रारम्भिक अनुमानमा ७० प्रतिशतभन्दा बढी मत खसेको जनाएको छ ।
प्रतिनिधि सभा १ मा ६५ देखि ८४ प्रतिशतसम्म मतदान भएको निर्वाचन कार्यालयका पुष्प पौडेलले बताउनुभयो ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिममा प्रतिनिधि सभा १ मा रहेको सुस्ता गाउंपालिकाको नारायणी नदी पारीको मतदान केन्द्रमा सबभन्दा बढी ८४ प्रतिशत मतदान भएको छ । शान्तिर्पुण रुपमा सम्पन्न भएको मतदानमा २५० जनाले मतदान गरेका छन् ।
मतदान पश्चात मतपेटिका डुंगामा राखेर नदी तारिएको छ । मतदानका लागि खटिएका सबै कर्मचारीहरु पनि डुंगाबाट नै पुगेका थिए । केहीले आफु त पहिलो पटक सुस्ता पुगेको र पहिलो पटक नै डुंगा चढेको अनुभव सुनाए ।
नारायणी नदी पारी रहेको सुस्ता गाउंपालिकाको वडा नं. ५ को सुस्ता टोलमा रहेको त्यस मतदान केन्द्रमा कुल २ सय ९८ जना मतदाता रहेको मतदान अधिकृत आनन्द प्रसाद शर्माले जनाउनु भएको छ ।
यस अघिको स्थानीय तहको मतदानमा समेत सकृय सहभागिता जनाएका सुस्तावासीहरु यस पटक पनि आफ्ना नेता चयन गर्न हौसिएका थिए ।
भौगोलिक रुपमा आवतजावतका लागि विकट रहेको सुस्तामा नारायणी नदी तर्न डुंगा नै आवतजावतको एकमात्र विकल्प हो ।
यस्तै नवलपरासी बसुप प्रतिनिधि सभा १ मा १०२ वर्षिया वृद्धाले मतदान गरेकी छन् । प्रतापपुर गाउपालिका वडा नं. ६ स्थित जन जागृति मावि गुठी परसौनीमा कठहवाकी १०२ वर्षिया वृद्धा झउली देवी हरिजनले छोराको सहारामा मतदान गरेकी हुन् ।
उनी यस अघिका सबैजसो निर्वाचनमा मतदान गरेकी छन् । उनी आफु यसपालीको मतदान पनि उत्सुक भएर गरेकी हुन् ।

प्रकाशित मिति : २१ मंसिर २०७४ बिहिबार ००:००  ३ : ४७ बजे