१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

तरकारी खेती तर्फ युवा आकर्षित



मायादेवी अनलाइन, वाणगंगा, २५ मंसिर ।
वाणगंगा नपा ८ का मिनबहादुर सेनले तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । उमेरले ४० कटेका सेन यस क्षेत्रमा युवा कृषकको रुपमा परिचित छन् । बार्षिक रुपमा तरकारी खेती गरि राम्रो आर्थिक उपार्जन गर्दै आएका उनी तरकारी व्यवसायबाट सन्तुष्ट रहेको बताउँछन । लामो समय खाडीमुलुकमा नोकरी गरेका उनले विदेश नजाने बाचा गरेका छन । उनी भन्छन्, ‘अब धनकै लागि भनेर विदेश जादैँन, विदेशमा जति स्वदेशमा मेहनत गर्न सके सुन फलाउन सकिने रछ ।’ मौसम अनुसारका विभिन्न जातका तरकारी उनले लगाउँदै आएका छन । तरकारी व्यवसायबाटै उनले ६ जनाको परिवार पालेका छन । घरखर्च, औषधिपोचार पनि यसैबाट गर्छु, उनी भन्छन्, ‘सबै खर्च कटाएर बार्षिक ३ लाख बचत गर्दै आएको छु ।’

स्थानीय साना किसान कृषि सहकारी संस्था मोतिपुरबाट विनाधितो रु. २ लाख ऋण लिएर उनले तरकारी खेती गर्न थालेको उनले बताए । शुरुवातीको डेढ बर्ष कुखुरा पालन व्यवसायमा सक्रिय उनी कुखुराबाट नराम्रो संग घाटा खाएको जनाए । तीन सय कुखुरा पालेर घाटा व्यहोरेपछि कुखुरा व्यवसायबाट विस्थापित बनेका उनले तरकारी खेती रोजेको हुन । ‘तरकारी खेतीबाटै कुखुरापालन गर्दा लागेको ऋण पनि चुक्ता गरे उनले भने ।’

आफ्नै १८ कट्ठामा उनले तरकारी खेती गरेका छन । रातदिन आफै खट्ने गरेका उनको तरकारी किन्न व्यापारीहरु खेतमा आउने गर्छन । उनको खेतमा अहिले काउली, बन्दा, ब्रो काउली, भेण्डी, लौका, बोडी, घिरौला, करेला, साग, खुर्सानी, टमाटर, लगायतका तरकारी छन । ‘मौसमी तथा वेमौसमी तरकारी उत्पादन गरेर घर तथा स्थानीय बजारमा विक्री गर्दै आएको छु, उनले भने, केही व्यापारी खेतमा लिन आउँछन ।’

सिजनमा उत्पादन भएको तरकारी विक्रीका लागि बजार पु¥याउन, संकलन गर्न वाह्य कामदार समेत लगाउनु परेको बताए । कहिले काही उत्पादन भएको तरकारीको बजार मूल्य सस्तो हुदा किसानलाई मर्का परेको बताए । उनको बारीमा धेरै खुर्सानी उत्पादन भएर बजार मूल्य नहुँदा त्यसलाई सुकाएर पनि विक्रि गर्नुपरेको बाध्यता सुनाए । धेरै विषादी प्रयोग गरेको तरकारी बजारमा आउछ, त्यो हरियो, चिल्लो र राम्रो देखिन्छ उनले भने≤ ‘तर उपभोक्तालाई थाहा हुँदैन एकदम विषादीयुक्त हुन्छ र परिक्षण पनि हुँदैन ।’

जिल्ला कृषि विकास कार्यालयका प्रमुख खुर्सेद अहमद खाँका अनुसार पछिल्लो समय व्यवसायीक तरकारी गर्ने युवा कृषकको संख्यामा बृद्धि भएको छ । जिल्लाका साविक धनकौली, निग्लिहवा, विजुवा, नन्दनगर गाविस, कपिलवस्तु नपा वडाको वडा नम्बर ३, ४, ५, बुद्धभुमि नपाको बुड्ढी, शिवराज नपाको शिवपुर, चन्द्रौटा, वाणगंगा नपाको मोतीपुर लगायतको स्थानमा व्यवसायीक तरकारी खेती हुदै आएको खाँले बताए । जिल्लामा उत्पादित तरकारी पोखरा, बुटबल, अर्घाखाँची लगायतको स्थानमा निर्यात हुने उनले जनाए । यहाँ झण्डै ३४ सय हेक्टर क्षेत्रफलमा व्यवसायीक तरकारी खेती गरिदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७४ बुधबार ००:००  २ : ५९ बजे