१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अवस्थामा सुधार



रामपुर, पाल्पा, मंसिर ।
पाल्पा जिल्लामा स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने महिलाको अवस्थामा सुधार आएको पाइएको छ । महिलामा चेतनाको स्तर वृद्धि हुँदै जाँदा पछिल्लो समय स्वास्थ्य संस्थामा नै गएर सुत्केरी हुने महिलाको संख्या बढ्दो छ ।
स्वास्थ्य कार्यालयले २०६८ बाट जिल्लामा सञ्चालन गरेको आमा सुरक्षा कार्यक्रमले स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने महिलालाई ठूलो सघाउ पुगेको हो ।
नेपालमा करिब ६० प्रतिशत महिला स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गरेको तथ्यांक छ भने पाल्पा जिल्लामा ८५ प्रतिशत पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो ।
सरकारले उपलब्ध गराएको आमा सुरक्षा कार्यक्रमअन्तर्गत न्यानो कपडा वितरण, स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत रु एक हजार यातायात खर्च र चारपटकसम्म गर्भ परीक्षण गराउनेलाई रु ४०० प्रदान गर्न थालेपछि स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुन थालेको उहाँले बताउनुभयो ।
जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज प्रभास, ताहुँ र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रसँगै २० वटा स्वास्थ्य चौकी गरी जिल्लाभरिमा कूल २५ वटा स्वास्थ्य संस्थाबाट आमा सुरक्षा कार्यक्रम लागू भइरहेको छ । (रासस) मंसिर २९ ।

प्रकाशित मिति : २९ मंसिर २०७४ शुक्रबार ००:००  १ : ५० बजे