५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

राजनीतिक गतिरोधको निकास खोज्न राष्ट्रपतिको अनुरोध



काठमाडौं, पुस १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक गतिरोधको निकास खोज्न दलहरुलाई आग्रह गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा उहाँले चुनाव भइसकेपछि देखिएको राजनीतिक गतिरोधबाट दलहरुले निकास निकाल्नेमा आफू विश्वस्त रहेको बताउनुभएको राष्ट्रपति भण्डारीका सल्लाहकार भेषराज अधिकारीले जानकारी दिनुभयो ।

जनमतको सम्मान गर्दै राजनीतिक दलहरुले निकास निकाल्न यथाशिघ्र अग्रसर हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको, दलहरु जिम्मेवार ढंगले अघि बढ्नेमा आफू विश्वस्त रहेको भेटमा उहाँले बताउनुभएको पनि सल्लाहकार अधिकारीले जानकारी दिनुभयो ।

सरकारले राष्ट्रपति समक्ष पेश गरेको राष्ट्रियसभा गठन सम्बन्धि अध्यादेश पारित नहुँदा राष्ट्रियसभा गठन हुन नसकेको र यसले प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या बाँडफाँडमा ढिलाई भइरहेका बेला माओवादी अध्यक्ष प्रचण्डले बिहीबार राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुभएको हो ।

प्रकाशित मिति : १३ पुस २०७४ बिहिबार ००:००  ७ : ०३ बजे