५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

दुवै मिर्गौला फेल भएका र क्यान्सर भएकालाई सरकारले मासिक ५ हजार दिने



​काठमाडौं, पुस १३ । दुवै मिर्गौला फेल भएका, क्यान्सर लागेका र पक्षघात भएका व्यक्तिलाई सरकारले मासिक पाँच हजार रुपैयाँ भत्ता दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको जीविकोपार्जनका लागि मासिक पाँच पाँच हजार रुपैयाँ दिने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । यस अघि सरकारले सरकारले मिर्गौलाका विरामीलाई निशुल्क डायलासिस सेवा र क्यान्सर रोगीको उपचारका लागि एक लाख रुपैया आर्थिक सहायता दिने निर्णय गरेको थियो ।

यस्तै बिहीबारको मन्त्रीपरिषद बैठकले स्वास्थ्य सचिवमा पुष्पा चौधरीलाई नियुक्त गरेको छ । यस्तै, विवादमा तानिएको रानीपोखरीको पुनर्निर्माण प्रक्रियालाई पुरातत्व विभागको मापदण्ड अनुसार बनाउन निर्देशन दिएको छ । रानीपोखरीको पुनर्निर्माणमा काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरबीचको विवाद सतहमा आएपछि बैठकले पुरातत्व विभागको मापदण्ड अनुसार बनाउन महानगरपालिकालाई निर्देशन दिएको हो ।

यसैबीच बिहीबारको बैठकलले सिटीइभिटीको ६ अर्ब ३० करोड सहायता ऋण र काठमाण्डौ विश्वविद्यालय अनुसन्धान विभागका लागि कोरिया सरकारको एक अर्ब चार करोड सहयोग स्विकार गर्ने निर्णय पनि गरेको अर्थमन्त्री कार्कीले जानकारी दिनुभयो

प्रकाशित मिति : १३ पुस २०७४ बिहिबार ००:००  ८ : ३९ बजे