७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

इरानमा भएको प्रदर्शन हिंसात्मक बन्दै



पुस १६ ।
इरानमा गएको तीन दिनदेखि सुरु भएको प्रदर्शनले हिंसात्मक रुप लिएको छ । सार्वजनिक भएका भिडियो फुटेजमा सरकार विरोधी प्रदर्शन अव्यवस्थित बन्दै गएको र हिंसात्मक घटना भएको देखिएको हो । इरानको उत्तर पूर्वी शहर मशहदबाट सुरु भएको प्रदर्शन देशका धेरै शहरमा फैलिएको छ । मूल्य वृद्धि तथा जीवनस्तर खस्किएको विरोधमा सुरु भएको प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रुप लिएको हो । मूल्य वृद्धिको विरोधमा सुरु भएको प्रदर्शनमा इस्लाम धर्मगुरुहरुले शासन सत्ता विरुद्ध आवाज उठाएपछि त्यसले ठूलो रुप लिएको हो ।

राजधानी तेहरानसहितका देशका धेरै शहरमा प्रदर्शन भएको छ । इरानमा सन् २००९ पछि भएको यो अहिलेसम्मकै ठूलो प्रदर्शन रहेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २००९ मा विवादित चुनावपछि ठूलो प्रदर्शन भएको थियो ।

सामाजिक सञ्जालमा जारी गरिएको भिडियोमा दुईजना प्रदर्शनकारीको ज्यान गएको दाबी गरिएको छ । दोरुद शहरमा भएको प्रदर्शनको क्रममा गोली लागेर उनीहरुको ज्यान गएको हो । प्रदर्शन चर्किँदै गएको र सरकारी सुरक्षाकर्मीले सुरक्षा सतर्कता बढाएको बताइए पनि यकिन विवरण भने आएको छैन ।

सरकारी पक्षबाट आधिकारिक जानकारी नदिइएको र जानकारीका लागि सामाजिक सञ्जालको भर पर्नु परेकाले समस्या भएको बिबिसीसहितका अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सरकारले मानिस भेला भएर प्रदर्शन नगर्न भन्दै चेतावनी जारी गरेको थियो । तर सामाजिक सञ्जालमा प्रदर्शनको पक्षमा उभिन आग्रह गरिएको छ ।

इरानमा यस्तो किसिमको सरकार विरोधी प्रदर्शन निकै कम हुने भएकाले सरकार चिन्तामा रहेको बिबिसीले जनाएको छ । देशको अर्थ व्यवस्थामा आएको समस्याका कारण राष्ट्रपति हसन रुहानी समस्यामा हुनुहुन्छ ।

दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिको विरोधमा सुरु भएको आन्दोलनले सरकार विरोधी प्रदर्शनको रुप लिएपछि उहाँ थप समस्यामा पर्नुभएको छ ।-एजेन्सी

प्रकाशित मिति : १६ पुस २०७४ आइतबार ००:००  १ : १९ बजे