२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

पणेना सुन्तला खेतीको नमुना गाँउ



प्रेम नारायण आचार्य, अर्घाखाँची, २० पुस ।
भारतमा सिपाहीको जागिर गर्दै गर्दा खान नपाएर आएका नेपाली भन्ने शब्द सुनेका कारण भारतीय पल्टनको जागिर चटक्कै छाडेर स्वदेश फर्किएका पणेना गाविसका ७३ वर्षीय हुमनाथ पौडेल अहिले अर्घाखाँचीकै सफल नमुना सुन्तला कृषक बन्न सफल भएका छन् ।
२०२७ सालमा भारतमा जागीर गर्दै गर्दा भारतीयले नेपालीप्रती गरेको घृणाको बचन सहन नसकी जागीर चटक्कै छाडेर घरमै फर्किएका पौडेलले नेपाली माटोमा केही गर्नुपर्छ भनेर दृढ संकल्प गरे । त्यसपछि उनले सुन्तला खेती सुरे गरे ।
उनले आफैले मात्र सुन्तला लगाएनन्। सारा गाँउलेलाई नै सुन्तला खेती गर्न प्रेरित गरे। अभियानका साथ आफै डोकोमा बोकर घरघरमा सुन्तलाका बिरुवा पुराए । पैसा हुनेलाई बिरुबा पैंचोमा बेचे नहुनेसँग श्रम साटे भने कसैबाट अन्न, डोका नाम्ला र दाउरा लिएर पनि सुन्तलाका बिरुवा घरघरमा लगाउन अनुरोध समेत गरे ।
उनले आफ्नो घरमा मात्रै सुन्तला खेतीबाट वार्षिक ५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको र परिवारलाई मस्तीले खान लाउन पुगेको बताए । उनको सुन्तला बगैचामा अहिले झण्डैं साढे ६ सय सुन्तलाका बिरुवा छन्। उनले बारी, खेत, खर्क सबैमा सुन्तलाको खेती गरेका छन् ।
एक व्यक्तिको पहलमा २०२७ सालमा सुरु भएको सुन्तला खेतीले अहिले पणेना गाविस र पोखराथोक गाविसमा प्रमुख उत्पादनको स्रोत बनेको छ । पणेना गाविसमा दुई सय र वाड न १ सिम्लेमा मात्रै झण्डैं ७० जना कृषकले अहिले सुन्तला खेतीबाट ५० हजारदेखि १२ लाखसम्म मनग्य आम्दानी गरिरहेका छन् ।
पणेना वाड नम्बर १ सिम्लेमा बैदेसिक रोजगारीमा गएका युवा पनि रोजगारीबाट फर्किएर व्यवसायिक सुन्तला खेतीमा लागेका छन् । व्यवसायिक सुन्तला खेतीमा लागेका सिम्लेका रेवतीराज पौडेलको बगैचामा झण्डै चार सय पचास सुन्तलाका रुख रहेका छन् । ती रुखहरुबाट वार्षिक तीनदेखि पाँच लाख रुपैयाँ आम्दानी हुने गरेको उनको भनाई छ । सुन्तला बिक्रीको लागि पनि सिम्लेका सुन्तला उत्पादक कृषकलाई कुनै समस्या छैन ।
यहाँ उत्पादन भएको सुन्तला प्रति केजी ७५ रुपैयादेखि ९० रुपैयाँसम्म बुटबलको बजारमा बिक्री भइरहेको शिक्षक पौडेलले बताए । गएको वर्षभन्दा अहिले सुन्तला राम्रो छ, यो साल झण्डै चार लाख कमाइन्छ होला उनले भने ।
सुन्तला बिक्रीबाट मात्र हैन सुन्तला विरुवाको नर्सरी राखी बिरुवा बेचेर पनि सिम्लेका कृषक पौडेलले वार्षिक पाँच छ लाख रुपैयाँ कमाउने गरेका छन् । उनको बगैचामा अहिले सुन्तला, कागती,जुनार इन्डियन किन्नु जातको सुन्तला, जापनीज उन्सु जातको सुन्तलाका ५० हजार बिरुवा बिक्रीमा छन् । गएको वर्षमात्र साढे चार लाखको बिरुबा बिक्री गरेको र यो वर्ष झण्डैं १० लाख रुपैयाँ सुन्तलाका बिरुवा बिक्री गर्ने लक्ष्य लिएको उनले बताए ।

 

प्रकाशित मिति : २० पुस २०७४ बिहिबार ००:००  १२ : ११ बजे