१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

तौलिहवा अस्पतालमा उल्लेख्य सुधार, आन्तरिक व्यवस्थापन पहिलो कारण



भुपाल थापा, कपिलवस्तु, २२ पुस ।
सदरमुकाम तौलिहवास्थित जिल्ला अस्पतालको आन्तरिक व्यवस्थापनसँगै सेवा प्रभावमा स्तरोन्नति हुँदै गएको छ। ०२८ सालमा स्थापित अस्पतालले अहिले भौतिक, मानवीय स्रोतसाधन र सेवामा फड्को मारेको छ। नवजात शिशुको मृत्युदर उच्च रहेको कपिलवस्तुमा जिल्ला अस्पतालमा अहिले ‘विशेष नवजात शिशु सघन कक्ष’ ( एसएनसियु) सेवा सुरु गर्ने तयारी थालिएको छ। विशेष गरी महिना नपुगी जन्मेका तथा सघन उपचार आवश्यक पर्ने गम्भीर अवस्थाका नवजात शिशुलाई लक्षित गरेर उक्त सेवा सुरु गरिएको अस्पतालले जनाएको छ। यहाँको सरकारी अस्पतालमा शिशु सघन उपचार कक्ष स्थापना हुने भएसँगै नवजात शिशुको अकालमै मृत्यु हुने दर घट्ने विश्वास लिइएको छ। नवजात शिशुमध्ये ५ देखि १० प्रतिशतलाई शिशु सघन उपचार कक्ष आवश्यक पर्छ। यसकै अभावमा विगतमा कतिपयको अकालमै ज्यान जाने गरेको चिकित्सकको भनाइ छ। अस्पतालले अबको एक महिनाभित्रै सो सेवा सुरु गरिने अस्पताल प्रशासनले जनाएको छ। अस्पतालमा स्वीस संस्था फेयरमेडको सहयोगमा नवजात शिशुका लागि एसएनसीयु सेवा सुरु गर्ने तयारी गरिएको अस्पताल बिकास समितिका अध्यक्ष विजय जैसवालले बताए। शिशु सघन उपचार कक्षको क्षमता विस्तारका लागि मन्त्रालयमा समेत पहल भइरहेको उनले बताए। जिल्ला अस्पताल तौलिहवाका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले गर्भावस्थाका अस्वस्थ खानपान तथा सानातिना असावधानीका कारण गर्भ तुहिने र महिना नपुगी अस्वस्थ शिशु जन्मने खतरा हुने बताए। रगतमा संक्रमण भएका, सास फेर्न गाह्रो भएका, दिमागको संक्रमण भएका, जन्मिँदा निस्सासिएका र जन्मिँदै मुटु रोग भएका शिशुको पनि सघन उपचार कक्षमा राखेर उपचार गरिएको डा. बन्जाडेले बताए। ‘कक्ष संचालन पछि संवेदनशील नवजात शिशुको उपचार यही हुनेछ’, उनले भने। भेन्टिलेटररहित भएकाले पनि यस्लाई ‘विशेष नवजात शिशु सघन कक्ष’ (एसएनसियु) भनिएको उनले बताए।

के हो विशिष्ट नवजात शिशु सघन उपचार कक्ष ?

गर्भावस्थाबाट शिशु अवस्थामा रुपान्तरणका लागि आवश्यक ऊर्जा र अक्सिजन पर्याप्त चाहिने गर्दछ, उक्त रुपान्तरणको घडीमा करिब ३० प्रतिशत शिशुमा स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सको भनाइ छ। उक्त शिशुहरूको जीवन रक्षाको लागि विशेष स्वास्थ्य उपचार आवश्यकपर्ने गर्दछ। त्यस्ता किसिमका शिशुहरूको उपचारका लागि ‘विशेष नवजात शिशु सघन कक्ष’ (एसएनसियु) को आवश्यकता पर्ने गर्दछ। एसएनसियुमा जन्मेदेखि चार सातासम्मका बच्चाहरुको उपचार हुन्छ। एक महिनाभन्दा कम उमेरका विरामी बच्चाको लागि एसएनसियु अत्यावश्यक जस्तै हुने चिकित्सकको भनाइ छ। सिकिस्त भएका, बढी ज्वरो आएका, दूध चुस्न नसक्ने, सास फेर्न गाह्रो भएका नवजात शिशुलाई एनआइसियु एसएनसियुमा नै राखेर उपचार गरिन्छ। यससँगै अस्पतालमा भौतिक सुविधा र बिरामीहरुको उपचार सेवा सुबिधाको स्तरमा समेत विगतको तुलनामा उल्लेखनीय सुधार आएको छ।

उता, महिलाहरुको प्रजनन स्वास्थ्यसम्बन्धी समस्याहरुमध्ये पाठेघर झर्ने जसलाई आङ खस्ने पनि भनिन्छ’ त्यस्को अप्रेशन सेवा समेत शुभारम्भ भएको छ। यस्तै हाइड्रोशील, हर्निया, एपेन्डीसाइटिस लगायतका सेवा समेत अस्पतालमा सञ्चालन भइसकेको छ। उता १२ करोडको लागतमा निर्माणधीन ५० शैयाको सुविधा सम्पन्न भवन आगामी असार भित्रै निर्माण सम्पन्न हुने अस्पताल प्रशासनले जनाएको छ। भवन निर्माण पछि कपिलवस्तुकै सबैभन्दा सुविधासम्पन्न अस्पताल हुने अस्पताल विकास समितिका अध्यक्ष जैसवालले बताए। अस्पतालमा २ जना एमडी र ४ जना मेडिकल अधिकृत कार्यरत छन्। ल्याब टेक्निसियन, फार्मेसी सेवासमेत सञ्चालित छ। क्षयरोगका लागि जीन एक्स्पर्ट मेशीन समेत आएको छ। यो मेसिनले जटिल खालका क्षयरोगीलाई समेत सरल तरिकाले पत्ता लगाउने जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत मोहोम्मद इरफानले बताए।

उता एचआईभि संक्रमितहरुका लागि सिडिफोर काउन्ट मेसिनसमेत सञ्चालनमा आइसकेको छ। सो सेवा सुचार भएपछि बुटवल भैरहवा, चितवन र दाङमा उपचार सेवा लिन जान बाध्य संक्रमितहरु यही सेवा पाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत योगेन्द्रप्रसाद भगतले जिल्ला सदरमुकाममा रहेको अस्पताललाई नमुना बनाउने तयारी गरिएको बताए । ‘अहिले अस्पतालको अवस्थामा धेरै सुधार आईसकेको छ, बिरामीहरुले यहीबाट थुप्र्रै सेवाहरु पाउने गरेका छन्’ उनले भने । स्थानीय निकायबाट औषधि खरिद गर्ने अधिकार दिइएपछि अस्पतालमा औषधिको अभाव भने रहेको अस्पताल प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २२ पुस २०७४ शनिबार ००:००  ३ : ४९ बजे