२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

सांसद ‘बलदेव’ को जीवनी- ‘भारतमा चौकीदारी समेत गरेंको अनुभव’



काठमाण्डौं ।
‘भारतमा चौकीदारी समेत गरें,’ तात्कालिक जनमुक्ति सेनाका डेपुटी कमान्डर चक्रपाणि खनाल ‘बलदेव’ ले अतीत सुनाए, ‘दुई–तीन वर्ष लगाएर भारतमै फोटोग्राफी सिकें । संवत् २०३८ मा नेपाल फर्केर फोटो स्टुडियो सञ्चालन गरी जीविकोपार्जन गर्न थालें ।’
जनमुक्ति सेनाका डेपुटी कमान्डर खनाल ०३८ जेठदेखि युवक संघमा आबद्ध भए । ‘०३४ मा राजतन्त्रविरोधी पर्चा गाउँ (अर्घाखाँची) पुर्याइएको रहेछ,’ उनले सम्झे, ‘पर्चा टाँस्नेमा म पनि थिएँ । त्यतिबेला म १४ वर्षको थिएँ ।’
त्यहाँदेखि यहाँसम्म आइपुग्दा नवनिर्वा्चित सांसद खनालले पछाडि फर्केर हेर्न परेन । आफूलाई त्यहाँसम्म पुर्याउँछु भन्ने महत्वाकांक्षा पनि छैन । ‘काम गर्दै जाँदा यहाँसम्म आइपुगेको हुँ,’ उनले खुसी व्यक्त गरे, ‘राम्रो काममा लागिरहने मिसन छ । आफूलाई त्यहाँसम्म पुर्याउने भन्ने महत्वाकांक्षा छैन । यो वा त्यो बन्ने भनेर आएकै होइन ।’
कपिलबस्तु–१ बाट काँग्रेस नेता दीपकुमार उपाध्यायलाई चुनाव हराएपछि ‘बलदेव’ फेरि चर्चामा आए ।
भौतिकवादी हुने, कम्युनिस्ट भएर जनताको सेवा गर्नेबाहेक इन्द्रेणी सपना नदेखेका सांसद चक्रपाणि खनाल ‘बलदेव’सँग मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी ः
मेरो खाना
प्रायः दालभात, तरकारी र रोटी खान्छु । त्यसो भन्दा अरू खानेकुरा मन पर्दैन भन्न खोजेको होइन । काठमाडौंमा रहँदा साथीभाइसँग कहिलेकाहीं रेष्टुरेन्ट पुग्छु । रेष्टुरेन्ट पुगिहाल्दा मःमः मगाउँछु । म दालभात, तरकारी, मासु पकाउँछु । यसो भनौं आमनेपालीका भान्छामा पाक्ने खानेकुरा सबै पकाउन आउँछ ।
मेरो पोसाक
पोसाकप्रेमी हुँ । जिन्स पाइन्ट, सर्ट, ज्याकेट लगाउने बानी छ । यसो भनौं टिटटप टाइपका पोसाक लगाउँछु । औपचारिक सभा–समारोहमा सुट लगाउनैपर्यो । धेरैजसो रेडिमेड पोसाक लगाउने गर्छु । ब्रान्डबारे जानकार छु । तर, यही ब्रान्ड हुनुपर्छ भन्ने मान्यता छैन । क्याप पनि लगाउँछु ।
मेरो फिटनेस
तात्कालिक माओवादी पार्टी शान्तिप्रक्रियामा आइसकेपछि शारीरिक अभ्यास गर्ने बानी छुट्दै गएको छ । हिजोआज पनि मन लाग्दा गर्छु । मन लाग्दा आफ्नैखालका व्यायाम गर्छु । कहिलेकाहीं योगा पनि गरिटोपल्छु । मर्निङवाकले समेत निरन्तरता पाएको छैन । भएको बिग्रेपछि ट्रेडमिल किनेको छैन ।
मेरो अध्ययन
हिजोआज सिंगापुरबारे अध्ययन गर्दै छु । पाँच नम्बर प्रदेशको राजधानी भनेर कपिलवस्तु चर्चामा आएपछि बुद्धबारे टिपोट खोज्दै छु । माक्र्सवादी किताब पढ्न जाँगर चल्छ । एकताका अग्निदीक्षा, आमा पढियो । मन पर्ने लेखक धेरै छन् । तर पनि मनमा बसेका लेखक पाबेल कोर्चा्गिन नै हुन् ।
मेरो निजी पुस्तकालयमा पाँच हजार बढी पुस्तक होलान् । पुस्तकमा दिल खोलेर खर्च गर्ने मानिस हुँ । यो वर्षचाहिँ पुस्तकमा खर्च गरेको छैन ।
मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । नेपालमा अधिकांश जिल्ला घुमेको छु । पुगेको छु । टेकेको छु । सेना समायोजनक्रममा विदेश पुगेको थिएँ । घुमेकामध्ये बुद्धसँग सम्बन्धित ठाउँ मन पर्यो । त्यसमा पनि बोधगया असाध्यै मन पर्यो । दुई–तीनपटक चीन पुगे पनि माओ त्से तुङको गाउँ पुग्न सकिनँ । माक्र्सको समाधिस्थल पुगे पनि जीवनमा एकपटक माओको गाउँ पुग्न पाए हुन्थ्यो भन्ने लागेको छ ।
मेरो फुर्सद
प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएपछि पहिलेभन्दा व्यस्तता बढेको छ । व्यस्तता बढे पनि मोबाइल अफ गरेरै आराम गरौं भन्ने लाग्दैन । फुर्सद पाइहालेमा चलचित्र हेर्ने गर्छु । घरपरिवारलाई त्यति समय दिन सकेको छैन । तर, समय–समयमा परिवारसहित घुम्ने, रेष्टुरेन्टमा खाने र चलचित्र हेर्ने गर्छु ।
मेरो खेलकुद
मलाई जिम्न्यास्टिक मन पर्छ । म १४–१५ देखि २० वर्षको हुँदासम्म जुडो, कराते र जिम्न्यास्टिक खेलें ।
मेरो मोबाइल
आइफोन र सामसुङ गरी दुई मोबाइल सेट प्रयोग गर्दै आएको छु । सामसुङ ३२ हजार रुपैयाँमा किनेको हुँ । आइफोनचाहिँ साथीले उपहार दिएका हुन् । कामै नलाग्ने भएपछि मोबाइल किन्ने हो । मोबाइलका एप्लिकेसन्स कमै प्रयोग गर्छु । कहिलेकाहीं मोबाइलमा क्यान्डिक्रस खेल्छु ।
मेरो टेलिभिजन
बुटवल र काठमाडौंमा गरी दुई टीभी छन् । टीभीमा समाचार, हास्यव्यंग्य हेर्छु । बेलुका टीभी हेर्ने साइत जुर्छ ।
मेरो चलचित्र
प्रतिनिधिसभा निर्वाचनअघि हिन्दी चलचित्र हेरेको थिएँ, नाम बिर्सें । हलसम्मै पुगेर चलचित्र हेर्ने गर्छु । सानोछँदा सोले हेरेको हो । त्यो पटक–पटक हेरेको थिएँ । नेपाली चलचित्रमा स्तरीयता कम छ । हास्यव्यंग्य समेटिएको चलचित्र स्तरीय लाग्छ ।
आफ्नो जमानाको अभिनेता अमिताभ बच्चनको अभिनय जीवन्त लाग्छ । म स्वयम् कलाकार पनि हुँ । अभिनयबारे परख राख्छु । नेपाली हास्यव्यंग्यमा अभिनय गर्ने कलाकारको अभिनय पनि मन पर्छ । नाटकबाट आएका कलाकार उत्तिकै मन पर्छ ।
मेरो रोग
ज्यानलाई बिसन्चो नभए पनि उच्च रक्तचाप र कोलस्ट्रोल छ । अहिलेसम्म होलबडी चेकअक गराएको छैन । उच्च रक्तचाप र कोलस्ट्रोलबाहेक तन्दुरुतै छु ।
मेरो भाषणशैली
बोल्न त बोल्छुजस्तो लाग्छ तर मेरो भाषण सिलसिलाबद्ध नभएको हो कि भन्ने लाग्छ । पहिलेपहिले भाषणशैली आक्रामक भए पनि अहिले सुन्नेले सन्तुलित छ भन्ने गर्छन् । भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । भाषण गरेकै आधारमा कहिलेकाहीं सामान्य विवादमा तानिएको छु । भाषण गर्नअघि तयारी गर्ने बानी छैन ।
मेरो मापसे
औंशी पूर्णेमा मादक पदार्थ खाइन्छ । तर, पारखीचाहिँ होइन । पार्टी शान्ति प्रक्रियामा आएपछि युएन मिसनमा रहँदा खाएको हुँ । हिजोआज पनि खाइन्छ तर जथाभावी होइन । खाँदा ६० देखि ९० एमएलसम्मको मात्रा छ । जीवनमा दुईपटक मात लाग्नेगरी मादक पदार्थ खाएको हुँ ।
मेरो संगीत
गीत–संगीत सुन्ने गर्छु । म गीत लेख्छु । गाउँछु पनि । खुसीराम पाख्रिन र जीवन शर्माका पालाका कलाकार पनि हुँ । एआर रहेमान र लतामंगेशकरको आवाज कर्ण्प्रिय लाग्छ । नारायण गोपालका गीत पनि सुनेको छु । सबै प्रकारका गीत सुने पनि मलाई लोकगीत सुन्न आनन्द लाग्छ । त्यसमा पनि लोक र आधुनिक गीतको ‘मिक्स्ड ट्युन’ भएको गीत सुन्न झन् जाँगर चल्छ । आफ्नै आवाजमा रेकर्ड भएका दुई गीत छन् । मैले लेखेको १५–२० गीत रेकर्ड भएका छन् ।
मेरो भूल
आजसम्म पश्चाताप लाग्नेगरी गल्ती गरेको छैन । पाँच कक्षामा पढ्थें । विद्यालय शिक्षकसँग चर्कोसँग झगडा गरेको थिएँ । मैले शिक्षकलाई नराम्रोसँग गाली गरेको थिएँ । त्यसपछि म धेरै दिन विद्यालय गइनँ ।
मेरो घर
मेरो घर छैन । अर्घाखाँचीका सबै बेचविखन गरेर २०२६ तिर कपिलवस्तु झरेका हौं । कपिलवस्तुको अमौलीमा जग्गाजमिन छँदै छ । त्यहाँको पुख्र्यौली घर मेरो भाग परेको थियो । २५ हजार ऋण तिर्नपर्ने भएकाले युद्धकालमा बेचें । पछि घर बनाउने साइत जुरेन । त्यसैले ०५० देखि डेरामा बस्दै आएको छु ।
मेरो राशी
मेरो राशी मीन हो । भौतिकवादी भएकाले ग्रहदशा हेराउँदिनँ । मैले जानेदेखि अहिलेसम्म ग्रहदशा, ग्रहशान्ति गराएको छैन ।
मेरो सौन्दर्यचेत
कपालमा केही लगाउँदिनँ । अहिलेसम्म लगाएको छैन । फेसियल गर्ने बानी छैन । क्रिम पनि प्रयोग गर्दिनँ । कहिलेकाहीं पफ्र्युम प्रयोग गर्छु । होटलमा बस्दा एक–दुईपटक साउनाबाथ बसेको छु ।
मेरो प्रेम
पार्टीमा हिँड्दाहिँड्दै बिहे गरेको हो ।
मेरो सपना
मैले परिकल्पना गरेको नेपालबारे युद्धकालमा पोस्टबहादुर बोगटीलाई दैनिकजसो पाँच घन्टासम्म सुनाउँथें । नेपाल यस्तो बनाउनुपर्छ भनेर मैले बोगटीलाई सात दिनसम्म सुनाएको थिएँ ।
नेपालमा पर्यटन र कृषिको सन्तुलन मिलाउनुपर्छ । त्यसमा पर्यटनको असाध्यै सम्भावना छ । त्यो सम्भावनालाई ‘क्यास’ गर्न सकिएको छैन । मुलुकले आयातमात्रै गर्छ । निर्यात छँदै छैन । आयात घटाउँदै निर्यात बढाउँदै जानुपर्छ । राजनीतिक परिवर्तन भए पनि आर्थिक अवस्था जर्जर छ ।
आफूलाई त्यहाँसम्म पुर्याउँछु भनेर हिजो पनि सपना देखिनँ र आज पनि देखेको छैन । काम गर्दै जाँदा यहाँसम्म आइपुगेको हुँ । राम्रो काममा लागिरहने मिसन छ । आफूलाई त्यहाँसम्म पुर्याउने भन्ने महत्वाकांक्षा छैन । यो वा त्यो बन्ने भनेर म आएकै होइन । भौतिकवादी हुने, कम्युनिस्ट बन्ने, जनताको सेवक बन्नेबाहेक अहिले पनि यो वा त्यो चाहिन्छ भन्ने माग छैन ।
मेरो मृत्यु
मृत्यु स्वाभाविक प्रक्रिया हो । मृत्युसँग खेलेकाले डर लाग्दैन । पटक–पटक मृत्युनजिक पुगेको थिएँ । बेनी आक्रमणको कुरा हो । हामी बसेकै ठाउँमा बम खसाइयो । ६ साथीको ठाउँका ठाउँ ज्यान गयो । बम प्रहार गरेको देखेर हो वा कसरी एक स्टाफले मलाई ढोकापट्टि ठेल्दिनुभयो । तसर्थ, बाँचें । उहाँ आफैंसहित आठजना घाइते भए ।
मृत्यु यस्तै होस् भन्ने लोभ छैन । रातोपाटी अनलाइनको लागि दीपेन्द्र राईले गरेको कुराकानी । 

प्रकाशित मिति : २३ पुस २०७४ आइतबार ००:००  २ : ३० बजे