२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

कृष्णनगर नाका मानव तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै



सीताराम चौधरी, कृष्णनगर ।
पछिल्लो समय कपिलवस्तुको कृष्णनगर सीमाक्षेत्र मानव ओसारपसारको मुख्य नाका बन्दै गएको छ । एकै साताको तथ्यांकअनुसार आधा दर्जन बढी चेलीको उद्धारले कृष्णनगर मानव बेचविखनको प्रमुख नाका बन्न थालेको देखिन्छ । मानव अधिकारको क्षेत्रमा त्यहाँ कार्यरत विभिन्न संघ संस्थाहरुको तथ्यांकले दिनप्रति दिन मानव ओसारपसारको घटनामा बृद्धि हुँदै गएको देखाउँछ ।
कृष्णनगर नाका सहज र खुला सीमाका कारण विचौलियाले कंैयौ बालिका तथा युवतीलाई सोही नाका प्रयोग गरी भारत कटाउने गरेको मानव बेचबिखन विरुद्ध कार्यरत संघसंस्था बताउँछन् । कृष्णनगर क्षेत्रमा अहिले मानव बेचविखन विरुद्ध शान्ति पुनस्र्थापना गृह र के.आई. नेपाल दुई संस्था सीमा निगरानी गर्दै आएका छन् । उनीहरुका अनुसार आशंका गरिएका कैयौं बालिका तथा युवतीहरुको उद्धार भएपनि बिचौलियाले आँखा छलेर भारत छिराउने गरेको छ । आँखा छलेर सीमा कटाइएका सयौं नेपाली चेली बेचबिखनको सिकार बन्न पुगेका छन् ।
पीआरसीद्वारा सातामा ५ बालिका, एक बालकको उद्धार
शान्ति पुनस्र्थापना गृह (पीआरसी) ले एक सातामा कृष्णनगर नाका हुँदै भारत तथा अन्य खाडी मुलुक जान लागेका ५ बालिका र एक बालक सहित ६ जनाको उद्धार गरेको छ । विचौलियाको प्रलोभनमा परी पढाइ छाडेर बालिकाहरु भारततर्फ जान लागेका हुन् । विचौलियाको मायाजालमा परेका पाँच जना बालिका प्यूठानका हुन् । उद्धार गरिएका सबै बालिका १५ वर्षमुनिका रहेको पीआरसी संयोजक भूमिराज भट्टराईले बताउनुभयो । सातामै ४ पटक गरी ५ बालिकाको उद्धार गरेको भट्टराईको भनाई छ । एकै जिल्लाबाट लगातार बालबालिका विदेशिनुले प्यूठानलाई चेलीबेटी बेचविखनको जोखिमयुक्त जिल्लाको रुपमा हेरिएको छ ।
पीआरसीले नेपाल प्रहरीको सहयोगमा माघ दोस्रो सातामा प्यूठानका स्वर्गद्वारी नगरपालिका र सरुमारानी गाउँपालिकाका ती बालिकाहरुलाई कपिलवस्तुको कृष्णनगर नाकाबाट उद्धार गरेको हो । उद्धार गरिएका सबै बालिकाहरुलाई परिवार बोलाई घर फिर्ता गरेको संयोजक भट्टराईले जानकारी दिनुभयो ।
पीआरसीले प्रहरीको सहयोगमा प्युठान जिल्ला घर भएकी १०वर्षीया बालिकालाई गत माघ १४ गते साँझ कृष्णनगर सीमा नाकाबाट उद्धार गरेको थियो । प्यूठानको सरुमारानी गाउँपालिका घर भएकी ३४ वर्षीय दीपा रावत र २० वर्षीय धन बहादुर राउतले बालिकालाई विवाह गरी उपचारको बहानामा ललाई फकाई भारतको पञ्जावमा लैजान लागेकोमा बालिकाको उद्धार गरिएको थियो ।
त्यतिमात्र होइन पीआरसीले बाग्लुङका ११ वर्षीय एक बालकलाई समेत कृष्णनगर नाकाबाट उद्धार गरी घर फिर्ता गरेको छ । निसिखोला गाउँपालिका ३, बाग्लुङ घर भएका ऋषिराम रेग्मीका ११ वर्षीय छोरा नवराज रेग्मीलाई प्रहरीको सहयोगमा पीआरसीले उद्धार गरेको हो । कक्षा ५ मा अध्ययनरत नवराज जागिर गर्न भनी ५० रुपैयाँ लिएर भारततर्फ जाँदै गर्दा कृष्णनगरबाट उद्धार गरिएको पीआरसी संयोजक भट्टराईले बताउनुभयो ।
केआईद्वारा भारतमा अलपत्र चेलीको उद्धार
मानव अधिकारको क्षेत्रमा कृष्णनगरमा कार्यरत के.आई. नेपालले भारतमा अलपत्र परेकी १७ वर्षीय चेलीको उद्धार गरेको छ । गुल्मी रिडी घर भएकी नाम परिवर्तन पूजालाई चण्डीगढ अन्तर्गत मोहाली यरियामा अलपत्र अवस्थामा रहेकी नेपाली चेलीको उद्धार गरेको हो । भारतको मूल प्रवाह अखिल भारत–नेपाल एकता समाज नगर समितिको सहयोगमा उद्धार गरेको केआई नेपाल कपिलवस्तु जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिनुभयो ।
केहि बर्ष अघि दुर्घटनामा परी आमा र दाजुलाई गुमाएकी किशोरी सौतेनी आमाको पीडा सहन नसकी बेचबिखनको सिकार बन्न पुगेकी हुन् । “पहिले पनि भारतको बिहार भन्ने ठाउँमा बेच्ने योजना र अहिले पञ्जाबमा बेच्ने योजना बनाएका थिए तर म भाग्न सफल भएँ ।” किशोरीको भनाईलाई उदृत गर्दै केआई संयोजक विश्वकर्माले बताउनुभयो । किशोरीका अनुसार उनकी एक दिदी पनि केही महिनादेखि सम्पर्कमा छैनिन् ।
सत्यतथ्य पत्ता लगाउन इलाका प्रहरी कार्यालय रिँडी र त्यहाँको स्थानीय निकायले समेत निगरानीमा राखेका छन् । हाल निज किशोरीको बाबा र सौतेनी आमा दुबै रिडीमा नरहेको बुझिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुभाष गैरेले वास्तविक घटनाबारे इप्रका रिडीसँग निरन्तर समन्वय गरी विशेष अनुसन्धान अगाडि बढाइएको जानकारी दिनुभएको छ ।
उद्धार गरिएकी चेलीको न्याय र संक्षणका लागि के.आई. नेपालको सुरक्षित आवास गृह चितवनमा पठाइएको केआई जिल्ला संयोजक विश्वकर्माले बताउनुभयो । किशोरीलाई आवास गृहमा राखी विभिन्न सीप मूलक तालिम दिई आत्मनिर्भर बनाउने बिश्वकर्माले जानकारी दिनुभयो । युवतीलाई सीमा कटाउन प्रयास गर्ने विचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
एक युवती लाई विवाहको बहानामा सीमा कटाउन लागेको अवस्थामा उद्धार गरिएको थियो । दलालले विभिन्न तरिका अपनाउने चरणहरु पनि फरक फरक फेला परेका छन् । मानव बेचबिखन तथा लंैगिक हिंसा अन्त्यका लागि क्रियाशि संस्था के.आई नेपालले दलालले विवाहको नामबाट चेलीहरुको बेचविखन गर्ने गरेको पाइएकोले उक्त घटना पनि त्यस्तै प्रकृतिको रहेकोले बताइएको छ । महेन्द्रनगर घर भएका हाल पञ्जाब बस्दै आएका व्यक्तिसँग विवाह गराइदिने भनि प्रलोभनमा पारी सीमा कटाउन लागेको बुझिएको छ ।

प्रकाशित मिति : २० माघ २०७४ शनिबार ००:००  ३ : १३ बजे