२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

सार्वजनिक जग्गा नहुँदा व्यापारिक केन्द्र अस्तव्यस्त



दिपक अनुरागी, कपिलवस्तु ।
सार्वजनिक जग्गा अभावका कारण कपिलवस्तुका प्रमुख व्यापारिक बजारहरु अस्तव्यस्त बनेका छन । बढ्दो शहरीकरणको प्रभावले बजारको जनघनत्व बढ्दै गएपछि बजार व्यवस्थित पार्न सरोकारवालालाई टाउको दुखाईको विषय बनेको छ । पूर्व पश्चिम राजमार्गले छोएका जितपुर चानरम्बर, गोरुसिंगे, इमिलिया, चन्द्रौटा बजार कपिलवस्तुका प्रमुख व्यापारिक केन्द्र हुन । तर यी बजारमा प्रयाप्त सार्वजनिक जग्गा नहुँदा अस्तव्यस्त देखिएका छन । जिल्लाका दक्षिणी क्षेत्रभन्दा पूर्व पश्चिम राजमार्गले छोएका उत्तरी क्षेत्रलाई विकास निर्माणका हिसाबले अग्रस्थानमा हेरिन्छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वमा रुपन्देही र पश्चिममा दाङ सिमाना सम्मका सबै भूभाग नगरपालिकाले छोएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित सदरमुकाम तौलिहवा पछिका प्रमुख व्यापारिक केन्द्रका रुपमा जितपुर चानम्बर, गोरुसिंगे, इमिलिया र चन्द्रौटालाई लिने गरिएको छ ।
बजारीकरणमा दैनिक बृद्धि आएको छ । तर बजार व्यवस्थित पार्न स्थानीय तहलाई हम्मे हम्मे परेको छ । वाणगंगा नगरपालिकाको जितपुर चारनम्बरमा बर्सपार्क बनाउने कुरा बर्षौ देखि उठ्दै आएको छ । नगरपालिकाले बर्षेनी बसपार्क बनाउनका लागि बजेट पनि छुट्याउँने गरेको छ तर जग्गा अभावको कारण बजेट फ्रिज हुँदै आएको छ । नगरपालिकाका मेयर मंगल प्रसाद थारुले चारनम्बरमा बसपार्क अनिवार्य जस्तो भएपनि जग्गा अभावको कारण काम गर्न नसकिएको बताउँछन । ‘बसपार्क बनाउँन छलफललाई अगाडि बढाएका छौँ, मेयर थारुले भने, “प्रमुख समस्या जग्गा अभाव हो, त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ सोच्दै छौ ।” बसपार्क नहुँदा सबैभन्दा बढी सवारीसाधन पार्किङमा समस्या देखिएको छ । सदरमुकाम तौलिहवा जाने प्रमुख गन्तव्यको रुपमा रहेको चारनम्बरमा बसपार्क अनिवार्य जस्तो छ । बसपार्कको अभावमा सवारी साधन यत्रतत्र राखिने गरिएको छ । अझ त्यसमा अटो रिक्साले झनै टाउको दुखाई बनाएका छन ।
बसपार्क जस्तै चारनम्बरमा लामो समय देखि सार्वजनिक शौचालयको अभाव रहदै आएको थियो । शौचालय बनाउन पनि जग्गा अभाव हुँदै आएको छ । तर चौतर्फि विरोधका बावजुत नगरपालिकाले विगत ६ महिना देखि घुम्ति शौचालय राखेको छ । त्यसले केहि सहजता आएको बजारबासी सागर घिमिरेले बताए ।
बुद्धभूमि नगरपालिकाको गोरुसिंगेमा पनि बसपार्कको समस्या विकराल छ । छिमेकि जिल्ला अघाँखाची गोरुसिंङगे हुँदै जाने गरिएको छ । तर यस नाकामा पनि बसपार्क छैन । सवारीसाधनले बाटो वरपर पार्किङ गर्दै आएका छन । अर्घाखाँची जिल्ला र सुपा देउराली लगायतका धार्मिक स्थल अवलोकनका लागि नेपाल लगायत भारत सम्मका दैनिक हजारौ तीर्थयात्री गोरुसिंगे हुँदै जाने गर्दछन । दिनहुँ सवारी साधनको चाप बढ्दो छ तर वसपार्क छैन । बसपार्क बनाउँने ठाउँ नभेट्दा समस्या आएको छ, बुद्धभूमि नगरपालिकाका मेयर केशब कुमार श्रेष्ठले भने, “बजेट भन्दा ठुलो जग्गा भेटाउन गाह्रो भयो ।”
बसपार्कको माग त छदै छ त्यसमा सार्वजनिक शौचालयको माग पनि उत्तीकै बढ्दो छ । अर्घाखाँची जाने यात्रुलाई सार्वजनिक शौचालय नहँुदा निकै समस्या रहदै आएको छ । आजभन्दा एक बर्ष पहिला नगरलाई तामझामको साथ खुला दिसामुक्त घोषणा गरिएको थियो तर गोरुसिंगे बजारमै सार्वजनिक शौचालय छैन । यसले सरोकारवाला निकायलाई गम्भिर प्रश्न उठाएको स्थानीयबासी नविन केशीले बताए ।
शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा पनि अझै बसपार्क बन्न सकेको छैन । चन्द्रौटालाई औद्योगिक करिडोरका रुपमा लिइन्छ । यस क्षेत्रमा दर्जनौ उद्योेगहरु स्थापना भएका छन । चन्द्रौटा बजार गर्न प्युठान, दाङ, रोल्पा, अर्घाखाँची सम्मका सर्वसाधारण आउने गरेका छन । भारतीय सिमा संग जोडिएको कृष्णनगर नजिकै पर्ने भएको कारण सर्वसाधारणको चाप यहाँ निकै बढ्दो छ । बसपार्क नहुँदा निकै समस्या त भएकै छ सिंगो बजारलाई कुरुप पनि बनाउँदै आएको छ । जग्गा अभावको कारण बसपार्क बनाउन नसकिएको शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले बताए । सार्वजनिक शौचालयका लागि पनि जग्गा नहुँदा तीन महिना देखि घुम्ति शौचालयबाट काम भैरहेको नगर प्रमुख अधिकारीले जनाए ।
उता प्रमुख व्यापरिक नाका कृष्णनगरमा पनि बसपार्क बन्न सकेको छैन । बार्षिक अरबौंको राजश्व उठाउँने कृष्णनगर नाकामा बसपार्क बनाउने माग उठ्न थालेको दशकौ वितेको छ । कृष्णनगर नगरपालिकाले सार्वजनिक जग्गा अभावको कारण काम अगाडि बढाउन सकेको छैन । नगरका मेयर रजत प्रताप शाहले सार्वजनिक जग्गा नभएको कारण बसपार्क बनाउँन नसकिएको बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७४ आइतबार ००:००  ११ : ५२ बजे