२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024

औद्योगिक करिडोर बन्दै शिवराज–कृष्णनगर क्षेत्र



बसन्त गिरी, कपिलवस्तु ।
तिब्र उद्योग स्थापना संगै कपिलवस्तुको शिवराज–कृष्णनगर क्षेत्र औद्योगिक करिडोरमा परिवर्तन हुदैछ । विगतका बर्षहरुमा स्थापना उद्योगहरुको तुलनामा विगत २ बर्षमा मात्रै अर्बाैको लगानीमा उद्योग खुल्न थालेपछि सो क्षेत्र अहिले सबै लगानीकर्ताहरुको रोजाईको क्षेत्र बनेको छ । समग्र ढंगबाट राम्रो मानिएको सो क्षेत्रमा अहिले ठूलो लगानीका ७ वटा उद्योग संचालनमा आउदै छन् । शिवराज नगरपालिका ६ वीरपुरमा ५ नयाँ सिमेन्ट उद्योग स्थापना भएका छन् । स्थानीय व्यवसायीको लगानीमा एउटा स्टील उद्योग र अर्को खाद्य उद्योग निर्माण भइरहेको छ । शिवराज नगरपालिका वडा नं. ६ वीरपुर क्षेत्रमा उद्योगहरु स्थापना हुने क्रम बढ्दो छ । औद्योगिक क्षेत्रको रुपमा विकसित हुदै आएको सो क्षेत्रमा बालाजी सीमेन्ट उद्योग, शुभ–लक्ष्मी सीमेन्ट उद्योग र अटल सीमेन्ट उद्योग निर्माणको चरणमा छन् । नयाँ प्रविधि र व्यवस्थापनका साथ भूगर्भ सीमेन्ट र हालै निर्माण सम्पन्न महाशक्ति सीमेन्ट उद्योग संचालनमा आइसकेका छन् । यसै गरि विजया सीमेन्टका संचालक विजय केडिया समूहले विजया स्टिल उद्योग संचालन गर्दैछन् । नेपाली व्यवसायीहरुले नेपालकै ठूलो क्षमताको खाद्य उद्योग सम्वृद्धि फुड प्रोडक्ट प्राली स्थापना गरिरहेका छन् ।
निर्माणाधिन अटल सीमेन्टका संचालन जमशेर अलिका अनुसार आउने १ बर्ष भित्रै सीमेन्ट उद्योगले उत्पादन सुरु गर्ने छ । “निर्माण सम्पन्न हुदा सम्म करिब ६० करोड खर्च लाग्ने छ” उहाले भन्नुभयो । उद्योगले बाहिरबाट क्लिङ्कर ल्याई ग्रयान्डिङ्ग गरि सीमेन्ट उत्पादन गर्ने संचालक बताउछन् । उद्योगले दैनिक १० हजार बोरा सीमेन्ट उत्पादन क्षमताको क्लोज सर्किट मेशिन लाउने भएको छ । यसै गरि १ अर्ब १० करोड बढिको लागतमा सोहि क्षेत्रमै बालाजी सीमेन्ट उद्योग संचालनमा आउदै छ । उद्योग निर्माणको ८० प्रतिशत कार्य सम्पन्न गरेको उद्योगले मेशिन जडान कार्यलाई तिब्रता दिएको छ । ग्रयान्डिङ्ग गरि सीमेन्ट उत्पादन गर्ने यस उद्योगले दैनिक १० हजार बोरा सीमेन्ट उत्पादन क्षमताको मेशिन संचालन गर्ने जनाएको छ । ओपीसी र पिपिसी सीमेन्ट उत्पादन गर्ने उद्योग ८ महिना भित्रै संचालनमा आउने लगानीकर्ताहरु बताउछन् ।
नेपाली उद्योगी पिताम्बर गैरे तथा शालिकराम ढकाल समूहको लगानीमा वीरपुर क्षेत्रमा शुभ–लक्ष्मी सीमेन्ट उद्योग निर्माण भइरहेको छ । निर्माणको ६० प्रतिशत कार्य सम्पन्न भएको उद्योग १ बर्ष भित्रै संचालनमा आउने बताइएको छ । १ अर्बको लागतमा निर्माण हुन गइरहेको उक्त उद्योगमा अत्याधुनिक मेशिन जडान गरिने बताइएको छ । उद्योगले दैनिक १० हजार बोरा ओपीसी र पीपीसी सीमेन्ट उत्पादन गर्ने क्षमताको मेशिन ल्याउने संचालकहरु बताउछन् । २ बर्ष अघि निर्माण थालिएको महालक्ष्मी सीमेन्ट उद्योग संचालनमा आएको छ । साउन देखि नियमित उत्पादन सुरु गरेको उद्योगले दैनिक ६ हजार बोरा सीमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगले सिर्नजी ओपीसी र जेके पीपीसी ब्रान्डका सीमेन्ट बजारमा ल्याएको छ । विगत लामो समय देखि बन्द अवस्थामा रहेको देउराली सीमेन्ट उद्योग पुन संचालनमा आएको छ । पुर्ननिर्माण तथा नयाँ मेशिनरी जडानका साथ उद्योग संचालनमा आएको हो । भदौ देखि भूगर्भ सीमेन्ट कम्पनीको नामबाट यसले उत्पादन सुरु गरेको छ । यसले आफै क्लिङ्कर र सीमेन्ट उत्पादन गर्दै आएको छ । दैनिक १० हजार बोरा सीमेन्ट उत्पादन क्षमता रहेको यस उद्योगले अहिले ६ देखि ७ हजार बोरा निकाल्दै आएको छ । उद्योगले भूगर्भ ओपीसी र देउराली, अपोलो पीपीसी ब्राण्डका सीमेन्ट विक्री गर्दै आएको छ ।
सम्बृद्धि फुड प्रोडक्टका प्रबन्ध संचालक रामहरी नेपालले दैनिक १५० टन मैदा, सूजी उत्पादन गर्ने उक्त उद्योग नेपालकै ठूलो क्षमताको रहेको दाबी गर्नुहुन्छ । ९० करोड लगानीको उक्त उद्योग चैत्र महिनाबाट संचालनमा आउने बताइएको छ । विजया सीमेन्ट संचालकहरुले शिवराज नगरपालिका ५ वीरपुरमा विजया स्टिल उद्योग संचालनमा ल्याउदै छ । केहि समस्या नआए १ बर्ष भित्रै यसले उत्पादन सुरु गर्ने संचालक विजय केडियाको भनाई छ । १ अर्ब २० करोड लगानी रहेको उक्त उद्योगले पश्चिम नेपालको स्टीलको माग धान्ने केडिया बताउनुहुन्छ । पूर्व–पश्चिम राजमार्ग संग जोडिएको चन्द्रौटा देखि भारतीय सीमाना कृष्णनगर बिचको क्षेत्रमा ठूला उद्योग स्थापनाले तिब्रता पाएको छ । सस्तो जग्गा, प्रयाप्त जनशक्ति, कच्चा पर्दाथ आयातका लागि नजिक सीमाना र विक्रीका लागि राजमार्ग संग निकटतम भएकै कारण यहाँ उद्योग स्थापना गर्न लगानीकर्ताहरुले इच्छा देखाउन गरेका छन् । यस अघि नै सो क्षेत्रमा विजया सीमेन्ट, विश्वकर्मा सीमेन्ट, गणपती सीमेन्ट, बुद्ध सीमेन्ट उद्योगका साथै ७ वटा प्लाईउड उद्योग स्थापित छन् । अन्य सानाठूला गरि ३० भन्दा बढि उद्योग संचालनमा रहेको कपिलवस्तु व्यापार संघका अध्यक्ष महादेव पोख्रेल बताउनुहुन्छ । विस्तारै औद्योगिक क्षेत्रको रुपमा विकसित यहाँ उद्योग स्थापना र संचालनमा अन्य क्षेत्रको तुलनामा सहज रहेको उहाँको भनाई छ । व्यवसायीको पहलमा उद्योगहरुलाई बेग्लै फिडरबाट विद्युत आपूर्ती गरिएको हुदा संचालित उद्योगको उत्पादन क्षमतामा वृद्धि भइरहेको पोख्रेलको भनाई छ ।
शिवराज क्षेत्रमा संचालित उद्योगहरुमा मात्रै अहिले २ हजार बढि मजदुर कार्यरत रहेको र नयाँ बन्ने उद्योगमा ५ सयले रोजगारी पाउने कपिलवस्तु व्यापार संघको दाबी छ । यस क्षेत्रमा थप उद्योग स्थापनाका लागि नगरपालिकाले केन्द्र सरकारको पहलमा औद्योगिक सुरक्षा बल स्थापना गर्नुपर्ने, ५ करोड माथि लगानीका उद्योगलाई ३ बर्ष सम्म स्थानी कर मिनाह गर्नुपर्ने र चन्द्रौटा–कृष्णनगर सडक विस्तार गरि ४ लेनको बनाउनुपर्ने, बाइपास रोड निर्माण गनुपर्ने र कृष्णनगरमा सुख्खा बन्दरगाहको लागि आवश्यक कार्यको पहल गर्न व्यवसायीहरुले सुझाव दिएका छन् । शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले उद्योग स्थापनाको बातावरण बनाउन नगरपालिकाले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७४ शनिबार ००:००  १ : २८ बजे