कपिलवस्तु। मायादेवी साझेदारी वन उपभोक्ता समूह बाणगंगा–१०, कपिलवस्तुको १३औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ।
साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सदस्य तथा पूर्वमन्त्री बिष्णु पन्थीले समूह मार्फत बनको संरक्षण, सदुपयोग र सन्तुलित व्यवस्थापनमा जोड दिनुपर्ने अावश्यकता रहेको बताएका थिए। उनले सामुदायिक तथा साझेदारी वनहरूले मुलुकको वातावरणीय सन्तुलन कायम राख्न ठूलो योगदान दिइरहेको भन्दै स्थानीय समुदाय र सरोकार निकाय अझै जिम्मेवार बन्न आग्रह गरेका थिए । उनले बन व्यवस्थापनमा पुरस्कृत भएकोमा मायादेवी साझेदारी वन समुहको कार्यको प्रशंसा गरे । पन्थीले मायादेवी साझेदारी वनले वन संरक्षण, उपभोक्ताको आयआर्जन वृद्धि र हरित अर्थतन्त्रलाई सुदृढ बनाउन काम गरेको बताए। वन हाम्रो जीवन, जलवायु र अर्थतन्त्रको आधार भएकाले यसको दिगो व्यवस्थापन आवश्यक रहेको पन्थीले बताए । समुहले वन संरक्षण र व्यवस्थापनमा राम्रो काम गर्दै स्थानीय जनताको जीवनस्तर सुधार गर्न समेत सहयोग पुर्याएको बताए ।
स्थानीय तहका प्रमुखले दिगो विकासका लागि हरित अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी, र वडाध्यक्ष शैलेन्द्र कुमार यादवले पालिकासंगकाे समृद्दिकाे लागि समन्वय र सहकार्यमा जाेड दिएका थिए ।
डिभिजन वन कार्यालय कपिलवस्तुका सिनियर डिभिजनल वन अधिकृत ईश्वरी प्रसाद पौडेलले सभामा सामुदायिक वन उपभोक्तालाई आयआर्जनका अवसरहरू सिर्जना गर्न वनजन्यको मूल्य अभिवृद्धि, पर्यटन प्रवर्द्धन तथा वन आधारित उद्योग स्थापना गर्न प्रोत्साहन गरेको बताए । साझेदारी वन महासंघका जयप्रकाश पाण्डेले मायादेवी साझेदारी वन उपभोक्ता समूहले वन संरक्षण र स्थानीय जनजीविकामा उल्लेखनीय योगदान पुर्याएको बताए।
साधारण सभामा समूहका अध्यक्ष दिनेशप्रसाद जयसवालले आर्थिक वर्ष ०८२।०८३ को वार्षिक कार्यक्रमसहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै, लेखा संयोजक राकेश यादवले आगामी आर्थिक वर्ष ०८२।८३ को अनुमानित आयब्यय प्रस्तुत गरेका थिए ।
वन संरक्षण, वैज्ञानिक व्यवस्थापन र साझेदारी वनको विकास प्रवर्द्धनमा पत्रकारितामार्फत महत्वपूर्ण भूमिका खेलेबापत साधारण सभामा दुई जना पत्रकारलाई सम्मान गरिएको छ। नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका सह–सचिव कृष्ण प्रसाद पौडेल, रेडियो परिवर्तनका प्रबन्ध निर्देशक भुपाल थापा सम्मानित भएका हुन् । कार्यक्रममा डिभिजन वन कार्यालय तौलिहवाद्वारा साझेदारी वन तर्फ तेस्रो स्थान हासिल गर्न सफल भएकोमा मायादेवी साझेदारी वन र कार्यसमिति सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।
मायादेवी साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेश जयसवालले गत वर्ष मायादेवी साझेदारी वनले साझेदारी वन राष्ट्रिय पुरस्कार तेस्रो स्थान प्राप्त गरेको र आगामी वर्ष पहिलो हुने गरी आगामी वर्षका कार्यक्रमहरु संचालन गर्ने र पहिलो पुरस्कार प्राप्त गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष शैलेन्द्रकुमार यादवले राखेका थिए । कार्यक्रमको संचालन लेखा व्यवस्थापक शिवराज चौधरीले गरेका थिए ।







प्रतिक्रिया