५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

निशुल्क उपचार पाएपछि स्थानीय दंग



शिवलाल सुवेदी, गुल्मी ।
गुल्मीको इस्मा गाउँपालिका ६ का नुरा बहादुर पराजुली हाड जोर्नी दुख्ने समस्याले थलिएको धेरै भयो । घरमै घरेलु उपचार धेरै पटक गरपनि निको भएन । आइतबार इस्मा गाउँपालिका ६ को अम्मपुर स्वास्थ्यचौकीमा संचालन भएको निशुल्क स्वास्थ्य शिविरमा आए । शिविरमा हाडजोर्नी बिशेषज्ञ डाक्टरसंग चेक जाँच गराएर औषधी पाएपछि पराजुली नी निकै खुशी छन् । अम्मरपुरकै सोवि कुमाल पनि बाथको बिरामी हुन् । ‘महिनौदेखि हात खुट्टा दुख्ने र खान मिठो भएकोे छैन, गाउँमै धेरै पटक धामीझाँक्री गरे,’उनले भनिन,‘तम्घास जाउँला भनेकी थिए, घरमै उपचार पाएँ खुसी छु ।’ मजदुरी गरेर घर धानेकी उनीसंग उपचार गर्न शहर जाने पैसा भएन् ।
कुमाल घरमै निशुल्क उपचार पाएपछि त्यसलाई सौभाग्य ठान्छिन् । उनले शिविरमा विशेषज्ञ डाक्टरको सल्लाह अनुसार औषधि पनि पाए । युरिक एसिड रैछ भन्ने समेत पत्तो लाग्यो । ‘सदरमुकाम जाँदा आउँदा दुई हजारले पुग्दैन,’उनले भने,‘डाक्टरले मुख बार्न भनेका छन्, निशुल्क चेक जाँच र औषधी पाएपछि धेरै खुसी लाग्यो ।’ गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले शिविरको आयोजना गरिएको हिमा स्मृति कोषमा संस्थापक तथा पुर्व संयुक्त राष्ट्रसंघका उपमहासचिव कुलचन्द्र गौतमले बताए ।
‘अझै पनि विपन्न नागरिक सामान्य उपचार अभावले पिरोलिएका छन्,’उनले भने,‘एउटा सानो प्रयासले झण्डै एक हजारले सेवा लिए, निकै आनन्द लाग्यो ।’ शिविरमा लुम्बिनी मेडिकल कलेज पाल्पाका हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर महेशराज घिमिरे, स्त्रीरोग बिशेषज्ञ डाक्टर सेबिना बानियाँ र डाक्टर प्रितम प्रधान सहितको एक दर्जन चिकित्सकहरुलेको बिरामीहरुको स्वास्थ्य परिक्षण गरेको कोषका सदस्य सुजन गौतमले जानकारी दिए । इस्मा गाउँपालिका र हिमा स्मृतिकोषको आयोजनामा दुई दिनसम्म सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा महिलाहरुको उल्लेख्य सहभागीता देखिएको छ । पुरुषको तुलनामा तेव्वर महिलाहरुले स्वास्थ्य परिक्षण गराएर औषधी लिएका छन् । शिविरमा ६ सय ९७ महिला र २ सय ५३ पुरुष गरी ९ सय ५० हजार नागरिकले सेवा लिएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७४ सोमबार ००:००  ३ : २७ बजे